
काठमाडौँ | बजारमा अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले बुधवारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । संघका सचिव मदन पोखरेलका अनुसार अण्डा प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढेको छ । उपभोक्तालाई ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा २ गोटाको ४५ रुपैयाँ पर्नेछ ।
नयाँ मूल्य अनुसार सबैभन्दा ठूलो (एक्सएल) अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ पर्ने भएको छ भने ठूलो अण्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको सचिव पोखरेलले जानकारी दिए । संघका अनुसार एक्सएल अण्डा क्रेटको ६१५ रुपैयाँ पुगेको छ भने मिडियम अण्डा प्रति क्रेट ६ सय रुपैयाँ तोकिएको छ ।