
काठमाडौँ | पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ। भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि अहिले नयाँ ट्र्याक सञ्चालनमा थियो। सोही ट्र्याकको सुरक्षाका लागि बनाइएको ग्याबिन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए।
अहिलेसम्म नयाँ ट्र्याकलाई असर नगरेको तर तलबाट त्रिशूलीले कटान गरी पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम रहेको उनले बताए। बेनीघाट-१० कै तेराङखोला र ज्यामिरेघाटमा पनि पहिरो खसेको डिएसपी दाहालले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले कृष्णभीरमा गएराति देखि नै स-साना पहिरो खसिरहेको जानकारी दिइन्। सँगै पृथ्वी राजमार्ग सडक खण्डमा ७ ठाउँमा पहिरो खसेको उनले बताइन्। लगातारको वर्षाका कारण पहिरो खस्न थालेपछि प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द गरेको छ।