काठमाडौँ | सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको छ। प्राप्त पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३,१६,७९५ (तीन लाख १६ हजार सात सय ९५) क्यूसेक पुगेको छ।
अविरल वर्षाका कारण जलसतह अझै बढ्दो क्रममा रहेकाले ब्यारेज प्रशासनले स्थितिलाई अति जोखिमपूर्ण घोषणा गर्दै उच्च सतर्कता अपनाएको छ। पानीको सतह निरन्तर बढेपछि जलप्रवाहलाई नियन्त्रण र सुरक्षित गर्नका लागि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये ४३ वटा ढोका खोलिएका छन्।