
काठमाडौँ | नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले पार्टीका सदस्य, शुभेच्छुक तथा नेपालभित्र र विदेशमा रहेका सहयोगीबाट उक्त रकम सङ्कलन गरिएको हो।
प्रतिवेदनअनुसार कुल २ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ ९६ पैसा सङ्कलन भएको थियो। सङ्कलित रकममध्ये १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। बाँकी १ करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ ९६ पैसा नेपाल बैंक तथा इसेवामा रहेको प्रतिवेदनमा उल्लेख छ। कांग्रेसले बाँकी रकमसमेत सम्बन्धित निर्णय तथा आवश्यकताअनुसार बाढीपीडितको राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गर्ने जनाएको छ।
प्रतिवेदनमा सङ्कलित सहयोग रकम पीडितहरूको वास्तविक आवश्यकतामा उपयोग हुने गरी पारदर्शी, जिम्मेवार र उद्देश्यअनुरूप परिचालन गर्नु पार्टीको दायित्व रहेको उल्लेख गरिएको छ।