
काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले राज्यले विश्वास गरेर जिम्मेवारी दिएको गोपनीयताको दुरुपयोग गर्ने व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने बताएका हुन् । उनले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय मर्यादा र जिम्मेवारीविपरीत गोप्य सूचना बाहिर पुर्याउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको उल्लेख गरेका छन् ।
गुरुङका अनुसार राज्यका संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी हुन् । पदका कारण सूचना प्राप्त गर्ने अधिकार भए पनि त्यसको दुरुपयोग गर्ने छुट कसैलाई नहुने उनले स्पष्ट पारेका छन् ।‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘सूचनामा पहुँच हुनुको अर्थ त्यसको दुरुपयोग गर्ने अधिकार प्राप्त हुनु होइन।’
संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको तथा संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ ।