
काठमाडौँ | सभामुख डोल प्रसाद (डीपी) अर्यालले तान्जानियामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३ औँ महासभालाई सम्बोधन गर्दै विश्वका सांसदहरूलाई जलवायु सङ्कटलाई संसद्को नियमित एजेण्डा बनाउन आग्रह गरेका छन्। सभामुख अर्यालले मङ्गलबार महासभालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । ‘म यस सभामार्फत विश्वका सांसदहरूलाई आग्रह गर्न चाहन्छु, हामी जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाऔँ’, सभामुख अर्यालको आग्रह छ ।
त्यस्तै उनले नेपालको संसद्मा बारम्बार उठिरहने जलवायु परिवर्तन, यसको प्रभाव, जलवायुजन्य विपद् र यसबाट नेपालले बेहोर्दै आइरहेको अकल्पनीय मानवीय तथा आर्थिक क्षति, हिमालयको सङ्कट र जलवायु वित्तमा नेपालको अत्यन्त न्यून पहुँच भएको विषय उठाएका छन् । ‘नेपालको सन्देश स्पष्ट छ; हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र हाम्रा भविष्य सुरक्षित हुन्छन्’, सभामुख अर्यालले आफ्नो सम्बोधनमा भनेका छन् ।
नेपाल विश्वका सांसदहरूसँग संसदीय सहकार्य गर्दै समावेशी, उत्तरदायी र जनकेन्द्रित लोकतान्त्रिक शासनलाई थप सुदृढ गर्न प्रतिबद्ध रहेको पनि सभामुख अर्यालले बताएका छन् ।