काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिलाई आधार बनाउँदै कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको थियो। यसपटक सभापति पदमा थापासँग प्रतिस्पर्धा गर्न किशोर सिंह राठोरले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै श्यामकृष्ण खड्कीले समेत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
सभापति पदमा अन्य नेताहरूले समेत उम्मेदवारी दर्ता गराउन सक्ने सम्भावना रहेको छ। कांग्रेसले उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको छ।