
काठमाडौँ | नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारविरोधी सशक्त आन्दोलनका लागि पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव बस्नेतले यस्तो बताएका हुन्। बस्नेतलाई संचारकर्मीले ‘चाडपर्वपछि घोषणा गरिएको आन्दोलनको मिति सरेको सर्यै, गर्यो नि ?’ भनि प्रश्न गरेका थिए। सो को जवाफ दिँदै उनले भने. ‘शिवरात्रिको ठूलो मुडा एकैचोटि बल्दैन, त्यसका लागि पहिले कागज, झिँजा र साना दाउरा सल्काइन्छ। अहिले भइरहेका वडा, पालिका र प्रदेश तहका अधिवेशन तथा भेलाहरू आन्दोलनकै पूर्वतयारी हुन्।’
उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले सोचेभन्दा निकै विशाल आन्दोलन हुने दाबी गरे। एमालेले सरकारलाई जिस्क्याउन नभई परिवर्तनका लागि आन्दोलनको आधार खडा गरिरहेको उनको भनाइ छ। आन्दोलनमा सहकार्यबारे प्रस्ट पार्दै बस्नेतले वर्तमान सरकार अधिनायकवादी, प्रतिशोधी, जनविरोधी र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।