
काठमाडौँ | नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई महाधिवेशन चल्दै गर्दा असोज २३ गते पक्राउ गरेको थियो। उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा १५६ जनाबाट दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको आरोपमा भरत चौलागाईंसहित चार जना यसअघि पक्राउ परेका थिए।