
काठमाडौँ | श्रम संस्कृति पार्टीका नेता तथा पूर्वमन्त्री सुधन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्। किरातीले सामाजिक सञ्जालमा लेख्दै सांसद पद नागरिकको भरोसा र सार्वजनिक नैतिकतासँग जोडिएको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। उनले उत्पीडन, मुक्ति र नैतिकताको एजेण्डा बोकेर राजनीतिमा आएका व्यक्तिमाथि नै गम्भीर उत्पीडन तथा अनैतिकतासम्बन्धी आरोप र प्रश्न उठेपछि पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा राखेका हुन्।
‘सांसद् पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो,’ किरातीले लेखेका छन्। उनले पात्र परिवर्तन हुँदैमा समाज परिवर्तन नहुने उल्लेख गर्दै सोच र प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताएका छन्। ‘अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसद जस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरूपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्,’ किरातीले लेखेका छन्।
रास्वपाले पनि आजै बिहान पार्टीको केन्द्रीय अनुशासन आयोगलाई आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको छ । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।