
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्। मंगलबार ‘विपद् उत्थानशीलताको सुरुआत घरबाटै’ अभियानको सुरुआत गर्दै उनले वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानलाई आधार बनाएर विपद्सम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको बताएका हुन्। विपद्का बेला व्यक्ति विशेषको सक्रियता नभई प्रणाली स्वतः सक्रिय हुने संयन्त्र विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका छन्। विपद् व्यवस्थापनका संयन्त्रलाई आवश्यकताअनुसार स्वतः परिचालित हुने गरी तयार गर्न सकेमा मात्रै भविष्यका चुनौती सामना गर्न सहज हुने उनको भनाइ छ।
विपद्का बदलिँदा स्वरूप र जोखिमका सङ्केतलाई ध्यानमा राखेर पूर्वतयारीलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले भिजुअलमा आधारित अनुगमन प्रणाली पर्याप्त नभएकाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट जोखिमको पहिचान गर्न सकिने बताएका छन्। नेपाल भूकम्पीय जोखिमका साथै मनसुनी बाढी, हिमताल विस्फोट र पहिरोले नदी थुनिने जस्ता फरक-फरक प्रकृतिका विपद्को जोखिममा रहेको भन्दै उनले सोहीअनुसारको पूर्वतयारी र राहत-उद्धार सामग्रीको व्यवस्थापन गर्नुपर्ने स्पष्ट पारेका छन्। माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान र निगरानीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन्। मन्त्री श्रेष्ठले भने, ‘हाम्रो नीति वैज्ञानिक तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा निर्देशित हुनुपर्छ, व्यक्ति केन्द्रित व्यवस्थाभन्दा प्रणाली केन्द्रित संयन्त्र बलियो हुनुपर्छ’। विपद् आइपर्दा आवश्यक संयन्त्र कुनै एक व्यक्तिको निर्णयमा निर्भर नभई स्वतः सक्रिय र परिचालित हुने व्यवस्था विकास गर्नुपर्ने उनले बताएका छन्।
विपद्पछिको उद्धार र राहतसँगै पूर्वतयारी, प्रभावकारी अनुगमन, आवश्यक उपकरणको व्यवस्थापन तथा विपद्पछिको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्। बालबालिकामा देखिने डर-त्रास र प्रभावित व्यक्तिहरूमा देखिने पोस्ट ट्रमासम्बन्धी समस्या सम्बोधन गर्न मानसिक स्वास्थ्यलाई समेटेर समग्र कार्यढाँचा बनाउनुपर्ने उनको भनाइ छ। आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य तथा परम्परागत रैथाने ज्ञानलाई समेत मिश्रण गर्नुपर्नेमा उनले जोड दिएका छन्।