
काठमाडौँ | नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक हुने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार केन्द्रीय सदस्यका बाँकी पदको मतगणना जारी छ। समितिले आज रातिसम्म सबै पदको परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ।
सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सभापतिमा गगनकुमार थापा ६ हजार ५८४ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए। त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।सहमहामन्त्रीका विभिन्न समूहको नतिजा पनि सार्वजनिक भइसकेको छ। खुला सहमहामन्त्रीतर्फ अजयबाबु शिवाकोटी र रामहरि खतिवडा निर्वाचित भएका छन्।
अहिले केन्द्रीय सदस्यका खुला, महिला, प्रदेशगत तथा समावेशीलगायत विभिन्न समूहको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यका ४५ पदसहित बाँकी पदको परिणाम सार्वजनिक भएपछि कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ।