
काठमाडौँ | पढाइदिने भन्दै भारततर्फ लगिरहेको अवस्थामा २५ जना बालबालिकालाई नाकाबाट फर्काइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बिहीबार बिहान उनीहरुलाई प्रहरी र शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाएको हो । देहरादुनको शाक्य सेन्टरमा पढाउन लैजाने भन्दै हुम्लाको सिमकोट गाउँपालिकालाई भारततफै लग्दै गरेको अवस्थामा कञ्चनपुरकी गड्डाचाैकी नाकापारि बनवासा पुल छेउमा रहेको एसएसबीले रोकेको हो । सिमकोटकै पञ्चवीर बुढा, नन्दवीर बुढा र चेतन रावतले उनीहरुलाई लगिरहेका हुन् । बालबालिकाहरु भारत लगिरहेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरीले बताए ।
उनका अनुसार बालाबालिकाहरु कसरी, कहाँ लगिँदै गरेको हो भन्ने विषयमा जाँचबुझ गरेर मात्रै निर्णय गरिने बताए । ‘अहिले के गर्ने भन्ने निर्णय भएको छैन, सबै कुरा बुझेर आवश्यक कारवाही गरिनेछ,’ उनले भने, ‘यसबारेमा बालबालिकाका अभिभावक र लैजाने व्यक्तिसँग छलफल गरिरहेका छौं ।’ भारततर्फ लगिँदै गरेका बालबालिका १०/१२ वर्षमुनिका छन् । उनीहरुलाई कहाँ लैजान लागिएको हो भन्ने विस्तृत खुलेको छैन । सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमलबहादुर बुढाले बालबालिकालाई पढाउन भारत लैजाने विषयमा सिफारिस माग्न आए पनि आफुले दिन नसकिने भन्दै फर्काएको बताए ।
उनका अनुसार पञ्चवीर र नन्दवीर दुवै जना यस पटक पनि सिफारिसका लागि वडा कार्यालयमा पुगेका थिए । तर आफुले सिफारिस नदिएको उनले बताए । देहरादुनमै पढाइका लागि गएका केही बालबालिकालाई विगतमा पनि छात्रावासमै कुटपिटका घटना भएका छन् । उनीहरुलाई बाहिर निस्किन नदिनेलगायतका घटना यसअघि पनि सार्वजनिक भएका थिए ।