असोज ३०, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ ।

मधेश र बागमती प्रदेशतर्फको अन्तिम मतगणना सकिएसँगै सबै २२९ पदको गणना पूरा भएको निर्वाचन समितिले जनाएको छ। मतपरिणाम रुजु गर्ने काम भइरहेकाले अन्तिम नतिजा केही बेरमा सार्वजनिक गरिने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
यसपटक सात हजार ३९२ मतदाताले मतदान गरेका थिए। करिब एक लाख ६२ हजार मतपत्रको गणना झन्डै २५ समूह परिचालन गरी एक सातामै सम्पन्न गरिएको हो ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई दशैंलगत्तै प्रमाणपत्र वितरण र शपथग्रहण गराउने तयारी छ। त्यसपछि बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।