काठमाडौँ, २ कात्तिक । सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको सहज आवतजावतका लागि दुईवटा बस निःशुल्क सञ्चालनमा ल्याएको छ। दसैँका बेला सार्वजनिक यातायातका साधनहरू न्यून रूपमा सञ्चालन हुने भएकाले यात्रुहरूको सुविधाका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार उक्त बस सेवा कात्तिक २ गतेदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। बसहरू दैनिक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायतका स्थानमा यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। त्यसैगरी, दोस्रो बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुहरूलाई निःशुल्क सेवा दिनेछ ।
दसैँका बेला सार्वजनिक सवारीसाधनको अभावका कारण यात्रुहरूले भोग्नुपर्ने समस्या कम गर्न सशस्त्र प्रहरीले यस्तो सेवा सञ्चालन गर्दै आएको छ। विशेषगरी निजी सवारीसाधन नभएका सर्वसाधारणलाई चाडपर्वको समयमा गन्तव्यसम्म पुग्न निःशुल्क बस सेवाले राहत पुर्याउने अपेक्षा गरिएको छ ।