
काठमाडौँ | नेपाली कांग्रेसले पदाधिकारीहरूको अनौपचारिक बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीहरूको बैठक बस्न लागेको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा विशेषगरी मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ।
यसैगरी, पार्टीका उपसभापति मधु आचार्यले बैठकमा पदाधिकारीहरूको कार्यविभाजन तथा समसामयिक राजनीतिका विविध पक्षमा छलफल केन्द्रित रहने जानकारी दिएका छन्। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरूको अहिलेसम्म जिम्मेवारी बाँडफाँट हुन सकेको छैन। सोही कार्यविभाजनलाई टुंगो लगाउन नेताहरूबीच आपसी छलफल हुन लागेको हो।