
काठमाडौँ | नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशनका लागि पाँचवटा समिति गठन गरिएको छ । महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न समितिका संयोजक तोकेका हुन् । महाधिवेशन तयारी समितिको मंसिर ९ गते बसेको बैठकको निर्णयअनुसार मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनका लागि प्रचारप्रसार समितिको संयोजकमा प्रकाशशरण महत मनोनीत भएका छन् ।
त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।
महाधिवेशन तयारी समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समितिका संयोजकहरू मनोनयन गरिएको जानकारी दिएका हुन् । कांग्रेसले मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।