– Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

                 –
२६ चैत्र २०८१, मंगलवार
बर्दिया - BRD

आहा ! यस्तो पो महोत्सव

४ पुष २०७४, मंगलवार ०३:१९


                 – प्रभात सुवेदी

महोत्सव भन्ने वित्तिकै मस्तिष्कमा एक खालको तस्वीर बन्ने गर्दछ, ‘रमाइलो मेला’, ‘कलाकारहरुको नृत्य’, ‘गीत सङ्गीत’, ‘विभिन्न खेलहरु’, ‘खाद्य परिकाहरु’ अनि जाडोमा लगाउने न्याना न्याना लुगाकपडाहरु देखि लिएर नयाँ नयाँ फेसनेबल लुगाहरु, अन्य यस्तै यस्तै । अनि यति मात्रै हैन कतिपय युगल वा प्रेमी प्रेमीकाहरुको घुमफिर र समय विताउने ठाउँ बन्ने गर्दछ महोत्सव । आफू शिक्षाक्षेत्रमा लागेको भएर पनि होला केही अघि महोत्सव हुँदा वा महोत्सवकै दौरानमा विद्यालयका बालबालिकाहरुलाई ¥यालीमा लैजानु तथा त्यसपछिका कार्यक्रमहरुमा विद्यार्थीहरुको सहभागीताले कक्षाकोठाहरु खाली हुँदा कति नरमाइलो लाग्दथ्यो । उनीहरुको सहभागीता कुनै अर्थपूर्ण नभएकोले गर्दा पनि यस्तो महशुस भएको हो । 

मंसिर २८ गतेदेखि पौष ५ गतेसम्म मध्यपश्चिमको औधोगिक नगरी नेपालगञ्जको बहुद्देश्यीय सभागृह निर्माण स्थल सडक विभाग परिसर कारकाँदौमा आयोजित आठौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजना गरिएको छ । जुन महोत्सव, व्यापारिक दृष्टिकोणबाट आयोजना गरिने महोत्सवलाई चुनौती दिँदै भव्य रुपमा चलिरहेको छ । कला र संस्कृतिको जगेर्ना गर्ने भन्दै नाङ्गा र अश्लीलतापूर्ण प्रस्तुतीहरु देखाउने र जनताहरुमाथि ब्रम्हलुट मच्चाउनेहरुका लागि यस प्रकारका महोत्सवहरु एउटा गतिलो पाठ बन्न सक्दछ । त्यसैले पनि यस प्रकारका महोत्सवहरुप्रति आम जनमानसको रुची बढेको नेपालगञ्जमा आयोजित शैक्षिक महोत्सवले देखाएको छ  । नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघले नै यसको जिम्मेवारी लिएको र बाँके शाखाबाट व्यवस्थापन गरिएकोले यो महोत्सवमा कुनै हालतमा पनि आर्थिक घाटा नहुनेमा केन्द्रिय प्रतिनिधीले बताएका छन् । 

बर्दियाबाट सहभागी एक शिक्षक रामप्रसाद लामिछानेले यस प्रकारका महोत्सवमा विद्यालयले नै विद्यार्थीहरुलाई सहभागी गराउने व्यवस्था गराएर कमसेकम उनीहरुका लागि एक दुई ओटा जीवनोपयोगी पुस्तकहरु किनेर पढ्ने बानीको विकास गराउन सकिएमा पक्कै पनि शैक्षिक स्तर उकास्न मद्दत पुग्नेकुरा बनाउनुहुँदै अन्य भ्रमण तथा पिकनिकहरुमा गएर पैसा सक्नु भन्दा यस प्रकारका महोत्सवहरुमा विद्यार्थीहरु तथा आफ्ना बालबालिकाहरुलाई सहभागी गराउन सकियो भने प्रतक्ष्य फाइदा पुग्ने बताउनुहुन्छ । यसैगरी बर्दियाकै गेरुवा गाउँपालिकाबाट आउनुभएकी अभिभावक मञ्जु भट्टराईले पनि यस प्रकारको महोत्सवले आम पाठक, विद्यार्थी तथा शिक्षक र केही सिक्न चाहने जिज्ञासु व्यक्तित्वहरुका लागि अत्यन्तै उपयोगी हुने कुरा भएकोले आफू महोत्सवमा आएको बताउनुभयो 

पुस्तक एउटा मानव जीवन बदल्ने महत्वपूर्ण माध्यम हो । असल पुस्तकले नै असल मान्छे जन्माउँछ । पुस्तकबाट नै विद्वान, वैज्ञानिक, राजनतेता, कवि, कलाकार, साहित्यकार देखि लिएर समाज बदल्न सक्ने व्यक्तित्वहरुलाई जन्माउँदछ । यस अर्थमा हेर्दा पुस्तक नै जननी हुन्, पुस्तक नै जनक हुन् । अर्थात असल पुस्तक नै असल जीवनको पथप्रदर्शकका रुपमा मान्न सकिन्छ । त्यसैले यस्तै भाव र उद्देश्य बोकेर एक हप्तासम्म नेपालगञ्जमा आयोजित यो शैक्षिक महोत्सवको आयोजक बनेर नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ हार्दिक धन्यवादको पात्र बनेको छ । अझ यसमा बाँके शाखाको उल्लेखनीय भूमिका रहेकोमा म व्यक्तिगत तर्फबाट पनि हार्दिक धन्यवाद दिन चाहन्छु । 

‘सामाजिक रुपमान्तरणका लागि शिक्षामा नयाँ अभियान’ नाराका साथ मंसिर २८ गतेदेखि शुरु गरिएको यो शैक्षिक महोत्सवको भव्य उद्घाटन उपराष्ट्रपति नन्द कुमार पुनबाट भएको हो । पौष ५ गतेसम्म जारी रहने यो महोत्सवमा देशभरीबाट विभिन्न प्रकाशक तथा स्टेसनरी व्यावसायीहरुको सहभागीता रहेको छ । केही विद्यालयहरुले भने स्टल लिएर आफ्ना विद्यार्थीहरुको वैज्ञानिक चिन्तन र अन्य प्रतिभाहरु प्रस्तुत गर्ने अवसर दिलाएका छन् । यो अत्यन्तै सकारात्मक कुरा हो । यसैगरी मंचीय कार्यक्रममा गायन तथा नृत्यको प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेर स्थानीय कलाकारहरुको खोजी तथा प्रोत्साहन गर्ने कार्य गरिएको छ । 

विद्यालय तथा क्याम्पस स्तरका पाठ्यपुस्तकहरु, धर्म, साहित्य, दर्शन, ज्ञानविज्ञानका विषयहरुमा विश्वस्तरका साहित्यकार तथा लेखकहरुका पुस्तकहरु मात्रै हैन स्टेसनरी तथा खेलकुदका सामग्रीहरु एकै स्थानमा पाइने भएपछि प्रदेश नं. ५ र ६ का विभिन्न जिल्लाहरुबाट पाठकहरुको कुम्भमेला नै लागेको छ नेपालगञ्जमा । जति पनि विषयवस्तुहरु छन् सबै ज्ञान र विज्ञानसँगै सम्बन्धित रहेका छन् । अझ नेपालगञ्जमा रगतको अभाव हुन नदिनका लागि नेपाल रेडक्रस सोसाईटी बाँके शाखाले महोत्सव स्थलभित्रै परोपकारी काम गर्दै रक्तदानको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । 


आफ्ना बालबालिकाहरुलाई अनावश्यक कुराहरुमा भुलाउनु तथा उनीहरुको माग पूरा गर्ने नाममा अनावश्यक खर्च गरेर आर्थिक बोझ बढाउनुको साटो कमसेकम उनीहरुको रुचीबमोजिमका पुस्तकहरुमा मन लगाइदिन सकियो भने कमसेकम सकारात्मक सोचको विकास हुन गई भविष्यको लागि परिपक्व धारणा बन्न सघाउ पुग्ने थियो । 

प्रदर्शनी स्थलमा हरेक दिन विभिन्न विषयमा साहित्यिक चर्चा परिचर्चाको कार्यक्रम समेत आयोजना गरिएको छ । यसै प्रसङ्गमा शुक्रबार लेखक, पाठक तथा प्रकाशक बीचको अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो भने शनिबार महिला स्रष्टा, अवसर र चुनौती विषयक अन्तक्रियाको आयोजना गरिएको थियो । आइतबार बहुभाषिक कविगोष्ठीको आयोजना गरिएको छ । कार्यक्रमको संरचना र व्यवस्थापकीय पाटो अत्यन्तै सुन्दर र रोचक रहेको छ । शनिबार सम्पन्न गरिएको महिला स्रष्टा, अवसर र चुनैती विषयक अन्तरक्रियामा सहभागी हुनुभएका साहित्यकारहरुमा चर्चित कवि हरिमाया भेटवाल, आख्यानकार उमा सुवेदी र बाल कथाकार शान्ता दाहालसँगको अन्तक्रियामा नेपालगञ्जका स्रष्टा रिचा लुईंटेलले गर्नुभएको साहित्यिक सम्बादात्मक अन्तरक्रिया अत्यन्तै उत्कृष्ट रहेको थियो भने आइतबारको बहुभाषिक कविगोष्ठीमा दर्जन स्रष्टाहरुले आ—आफ्ना सिर्जनाहरु पस्केका थिए । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रभात सुवेदीले विशुद्ध शैक्षिक महोत्सव बनाउने उद्देश्य रहेकोले सामान्य रुपमा साँस्कृतिक कार्यक्रम मात्रै राखिने र बाल उद्यान तथा अन्य कुराहरु नराख्ने सोच हुँदाहँदै पनि स्थानीय माग र जिल्ला समितिको आग्रह अनुरुप मेलामा सहभागीता बृद्धि गर्न र बालबालिकाहरुको आकर्षणका लागि राखिएको बताउनुहुँदै यस अघि बुटवलबाट शुरु गरिएको यो महोत्सव पोखरा, दाङ्ग हुँदै नेपालगञ्जसम्म आउँदा आठौँ महोत्सवको रुपमा आएको बताउनुभयो । 

वास्तवमा महोत्सव मनदेखि नै रमाइलो लाग्ने रहेको छ । वर्तमान समयमा सूचना र सञ्चार प्रविधिप्रति आम मानिसको आकर्षण जति बृद्धि हुँदै गएको छ उत्तिकै पुस्तकप्रतिको आकर्षण पनि बढ्दै गएकोले यहाँ देश तथा विदेशका विभिन्न लेखकहरुका पुस्तकहरु विक्रीका लागि राखिएको छ । यति मात्रै हैन पुस्तकको मूल्यमा पनि केही सहुलियत दिएर व्यवसायीहरुले विक्री विवतरण गरिरहेका छन् । केही फाट्ट फुट्ट मात्रै अन्य व्यावसायीहरुको उपस्थिति रहेतापनि ९५ प्रतिशत भने पुस्तक नै पुस्तक राखिएका स्टलहरु रहेका छन् । नेपालका चर्चित प्रकाशन गृहदेखि भर्खरै स्थापना भएका नयाँ नयाँ प्रकाशन गृहहरुका लागि आफ्ना पुस्तकहरु विक्री गर्ने तथा प्रचार प्रसारका लागि शैक्षिक महोत्सव निकै सुन्दर अवसर भएको   पुस्तक तथा स्टेसनरी व्यावसायी कृष्ण ज्ञवाली बताउनुहुन्छ । 

बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ्ग लगायतका जिल्लाहरुमा रहेका विभिन्न शैक्षिक प्रतिष्ठानहरुका लागि यो एउटा सुन्दर अवसर हुन सक्दछ । जहाँ तपाईं हामीले वर्षौंदेखि खोजिरहेका तर नपाएका पुस्तकहरु पनि सहजै प्राप्त गर्न सक्ने अवस्था बन्न सक्दछ । बालबालिकाहरुका लागि भने आ–आफ्ना रुची तथा विधाका पुस्तकहरु खरिद गरी आफ्नो अध्ययनको सिमालाई फराकिलो बनाउनका लागि एउटा सुवर्ण अवसर बन्न सक्दछ । 

अभिभावकदेखि विभिन्न परीक्षाहरुका लागि तयारी गरिरहनुभएका व्यक्तित्वहरुका लागि प्रतिष्पर्धामा खरो उत्रनका लागि आफूलाई निखार्न र तीखार्नका लागि अत्यनै उपयोगी पुस्तकहरु प्राप्त गर्न सकिन्छ । सञ्चार क्षेत्र तथा कृषि तथा वागवानी आदि क्षेत्रहरुमा समर्पित व्यक्तित्वहरुका लागि तत्सम्बन्धि पुस्तकहरु र धार्मिक क्षेत्रमा समर्पित धार्मिक अद्येतहरुका लागि वेद, पुराण, उपनिषद्, धार्मिक कर्मकाण्डहरुका पुस्तक पाइने अत्यन्तै सुनौलो अवसर भएकोले आफ्नै घरआँगनमा आएको यो मौकालाई कसैले पनि गुमाउनु हुँदैन भन्ने यो लेखकको बुझाई हो । 


त्यसैले पनि हरेक अभिभावकहरुले आफ्ना बालबालिकाहरुका लागि, प्रत्येक विद्यालयहरुले आ–आफ्ना विद्यार्थीहरुका लागि कमसेमक एक दिन यही हप्ताभित्र समय व्यवस्थापन गरेर पुस्तक प्रदर्शनी तथा शैक्षिक मेलामा लैजान सकियो भने जीनवमै एउटा महत्वपूर्ण अवसरलाई उपयोग गर्न सकिने कुरामा कुनै शंका छैन । किनकी एउटै असल पुस्तकले नै कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्दछ । परिवर्तिन जीवन नै समाज तथा राष्ट्रको लागि गर्वको दरिलो आधार बन्न पनि त सक्छ ! 

अतः यस्ता खालका अवसरहरु हामी आफूले पनि नछुटाऔँ र हाम्रा बालबालिकाहरुलाई पनि सक्रीय रुपमा सहभागी गराएर उनीहरुको पठन सिपको विकास गरी अध्ययनशील र चिन्तनशील बनाउनका लागि प्रेरणादायी भूमिका निभाऔँ असल र सचेत अभिभावक हुनुको वास्वविक परिचय दिन सकौँ ताकि हामीप्रति हाम्रा पुस्ताहरुले गर्व गरुन् !

त्यसैले आल्तुफाल्तु काममा समय पैसा खेर फाल्नुभन्दा यस प्रकारका मेला तथा महोत्सवमा गएर केही कुरा सिकौँ र केही सिक्ने अवसर प्रदान गरौँ । कमसेकम आफ्ना आफन्तहरुको जन्मदिन वा विवाहोत्सवमा पुस्तक उपहार दिने बानी बसालौँ । पुस्तक पढौँ, पुस्तक सिकौँ, पुस्तकमा रमाऔँ, पुस्तक बुझौँ, पुस्तकलाई जीवन बनाऔँ, आफू पनि बनौँ अनि आफ्नो घरपरिवार तथा समाजलाई पनि बनाऔँ । 

‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ को यो अभियानमा हामी पनि सहभागी भई आफू र आफ्नो परिवारबाटै रुपान्तरणको प्रक्रियामा सहभागी होऔँ । 

subediprabhat@gmail.com


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे