2026-10-15 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार

फागुन ७, सुर्खेत | बुझाइमा प्रजातन्त्र र लोकतन्त्रमा भिन्नता देखिए पनि सामान्यत त्यसको अर्थमा विविधता छैन । अंग्रेजीमा लोकतन्त्र र प्रजातन्त्र दुबैलाई ‘डेमोक्रेसी’ नै भनिन्छ । तर नेपालीमा प्रजातन्त्रभन्दा लोकतन्त्रलाई परिस्कृत शासन व्यवस्थाका रुपमा लिइने गरिएको छ । 

राजा र प्रजाको ठूलो संघर्षबाट नेपालमा जहाँनिया राणाशासनको अन्त्य गरी २००७ मा स्थापना गरेको प्रजातान्त्रिक व्यवस्था ऐतिहासिक महत्वको घटना हो । यद्यपि त्यही गौरवपूर्ण घटना औपचारिकतामा सीमित हुँदै गएको छ । प्रजातन्त्रको अभ्यूदयपश्चात् मात्र नेपाली जनताले स्वतन्त्रताको महसुश गर्न थालेको दिनको महत्व र गरिमाप्रति चासो घट्दै जानुमा कारण के हो भन्ने विषयमा कोही कसैले त्यति सरोकार राखेको देखिँदैन । राणाकालीन १०४ वर्षको शासनविरुद्ध अनवरत संघर्ष गरेका नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट मुलुकमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि मात्र नेपालमा राजनैतिक संगठनहरु उम्रन थालेको पाउन सकिन्छ । 

यद्यपि प्रजातन्त्र प्राप्तिपछि नेपालमा भएका विभिन्न परिवर्तनले प्रजातन्त्र दिवसलाई ऐतिहासिक एवम् महत्वपूर्ण घडीको रुपमा मनाउन छोडेको पाइन्छ । त्यसको अलावा प्रजातन्त्रलाई परम्परागत दिवसका रुपमा मात्र हेर्नेहरु पनि त्यत्तिकै छन् । प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनाल नेपालमा प्रजातन्त्र आएको दिन देश र जनताका लागि अत्यन्तै महत्वपूर्ण घटना भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लोकतन्त्र उरन्ठेउलाहरुको विचार हो । नेपालमा प्रजातन्त्र आउँदा देशले ठूलो फड्को मारेको थियो ।” 

उहाँले थप्नुभयो, “वामपन्थीहरुले २००७ र २०४६ सालको क्रान्तिलाई अपूरो ठान्दै आए जसका कारण सानो देशमा ठूलो समस्याको चाङ लागिरह्यो र पछि गएर त्यो नै देश विकास र समृद्धिको बाधक बन्यो । तसर्थ गम्भीरताका साथ मनन गर्दै ऐतिहासिक महत्व बोकेको उपलब्धिपूर्ण प्रजातन्त्र दिवसलाई सम्मानका साथ मनाउनुपर्छ ।” प्रजातन्त्र र लोकतन्त्र मात्र सोचाइमा अन्तर भएको उहाँको भनाइ थियो । उहाँले प्रजातन्त्रको स्थापनापछि आफूले पहिलो पटक २०१४ सालतिर सुर्खेतमा डा के आई सिंहले स्पिकरमा बोलेको सुन्दा वास्तविक बोलीभन्दा स्पिकरको आवाज अनौठो मान्दै सुनेको अनुभूति सुनाउनुभयो । 

त्यसैगरी, उहाँले हरिलाल पन्त, नैनबहादुर सिंह लगायतका योद्धाले प्रजातन्त्र ल्याउनमा अहम् भूमिका खेलेको बताउनुभयो । तिला गाउँपालिका–४, जुम्ला निवासी ८२ वर्षीय रणबहादुर शाहीले नेपालमा २००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीले भने २००८ सालमा थाहा पाएको जनाउनुभयो । राज्यले मनाउने प्रजातन्त्र दिवस मात्र नभएर अन्य राष्ट्रिय महत्वका दिवस के–के हुन् र कहिले मनाइन्छन् भन्ने कुरासमेत यहाँका ग्रामीण नागरिकलाई थाह नभएको उहाँले रासससँगको कुराकानीमा भन्नुभयो । 

राजा र प्रजाको संघर्षबाट प्रजातन्त्रको उदय भएकाले यसलाई महत्वपूर्ण दिवसका रुपमा मनाउनुपर्नेमा उहाँको जोड छ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्र आए पनि कर्णालीको विकास हुन नसकेको उहाँको गुनासो थियो । 

चन्दननाथ नगरपालिका–६, जुम्ला निवासी ज्येष्ठ नागरिक पदमलाल महतले हिजो राज्यले नै सम्मानका साथ मनाउने प्रजातन्त्र दिवस आज राज्यकै नीति निर्माणमा बसेकाले कम मान्यता दिएकाले यो छायाँमा पर्दै गएको आरोप लगाउनुभयो । लोकतन्त्र भन्ने शब्द र दिवस मनाउने कुरा आएपछि प्रजातन्त्र दिवसको महत्व घटेको उहाँको बुझाइ छ । 

खासगरी पुरानो पुस्ताले प्रजातन्त्र स्थापनाको दिनलाई महत्व दिँदै आए पनि नयाँ पुस्ताले लोकतन्त्र प्राप्ति भएको दिनलाई बढी महत्व दिएको बताउनुहुन्छ, कर्णालीका पुराना वामपन्थी नेता रामकृष्ण बुढ्थापा । उहाँले मुलुकका परिवर्तनसँगै कार्यशैली र पद्धति पनि बदलिएको जनाउनुभयो । यद्यपि सर्वमान्य राष्ट्रिय महत्वका घटनाको तौल घटाउन नहुने उहाँको भनाइ छ । 

चन्दननाथ नगरपालिका, जुम्लाका प्रमुख कान्तिका सेजुवालले पञ्चायती शासन व्यवस्थामा निकै महत्वका साथ मनाइने प्रजातन्त्र बहुदल आइसकेपछि बहुदलवादीले कम मान्यता दिएको टिप्पणी गर्नुभयो । पछिल्लो समयमा झनै औपचारिकतामा मात्र प्रजातन्त्र दिवस मनाइने गरिएको उहाँले बताउनुभयो । 

“प्रजातन्त्र र लोकतन्त्र एकअर्काका पर्यायवाची शब्द भएकाले राजनीतिक दलहरु एकजुट भएर महत्वका साथ मनाइनुपर्दछ,” प्रमुख सेजुवालले भन्नुभयो । यसका लागि राज्यका हरेक अंग, प्रत्यंग पनि सशक्त बनाउँदै लैजानुपर्ने उहाँको सुझाव थियो । “उसो त लोकतन्त्र दिवसप्रति पनि नागरिक उत्साह देखिँदैन । यसो हुनुमा मुलुक भित्रको शासन पद्धतिको सही विकास नहुनु नै हो,” उहाँले थप्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने