चैत १८, काठमाडौं | सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
कैलापालकी १७ वर्षीया पूजा बोहरा सिद्धेश्वर उमाविमा पढ्थिन् । ०६८ चैत ७ देखि सुरु एसएलसी परीक्षा केन्द्र बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उमाविमा तोकियो । केन्द्रबाट उनको घर ५ घण्टा पैदल यात्रा गर्नुपथ्र्यो । परीक्षा बिहानै ८ बजेदेखि हुने भएपछि बुबाले बजारमै एक आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिए । दुई दिनको परीक्षापछि गणितको तयारीका लागि आफन्तको अनुमति लिएर उनी पाटनबजारस्थित पुस्तक पसलमा गेसपेपर किन्न गएकी थिइन् । पसलमा पानी माग्दा लठ्याउने पेय पदार्थ खुवाएर उनलाई बलात्कार गरियो । उनले परीक्षा दिन सकिनन् । मानसिक अस्पतालमा राखेर उपचार गराउनुपर्यो ।
कालिकोटको गेल केन्द्रबाट परीक्षा दिइरहेकी १८ वर्षीया छात्रा ०६९ चैत ७ गते बलात्कृत भइन् । उनी परीक्षा दिन आफन्तको घरमा बसेका बेला महिनावारी भएपछि छाउगोठमा सुतिरहेका बेला बलात्कृत भएकी थिइन् ।
संखुवासभाको महेश्वरी मावि, ताम्कुमा एसएलसी दिन आएकी १५ वर्षीया छात्रा ०७० चैत १५ मा बलात्कृत भइन् । याफुबाट ताम्कुमा परीक्षा दिन आएका बेला उनलाई प्रहरी जवान अमृत राईले बलात्कार गरेका थिए । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।
अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गर्दा परीक्षा अमर्यादित हुने भन्दै विद्यार्थीलाई भन्दा सरकारलाई सहज हुने गरी परीक्षा केन्द्र तोक्ने व्यवस्था भने फेरिएको छैन ।
‘प्रयोगात्मकमा विद्यालयले २५ पूर्णांकमा २५ नै दिँदा विश्वास हुने, ७५ पूर्णांकको परीक्षामा पनि फेल हुने होइन,’ शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले भने, ‘जतिसुकै परीक्षा टाइट बनाए पनि चोरी रोकिने त होइन । त्यसैले जहाँ पढेको हो, त्यहीँ परीक्षा लिने संयन्त्र बनाए हुन्छ ।’ सरकारले आफ्नो सिस्टम राम्रो देखाउन विद्यार्थीलाई सास्ती दिइरहेको उनले बताए ।
एउटा विद्यालयबाट सरकारलाई पायक पर्ने गरी तोकिएको केन्द्रमा परीक्षा लिन पठाउँदा कक्षाका सबै विद्यार्थी पठाउनुपर्ने हुन्छ । सरकारले व्यवस्थित योजना बनाउने हो भने अर्को विद्यालयका बढीमा १० जना शिक्षक मात्रै खटाए पुग्छ । सुपरिटेन्डेन्ट पनि अर्कै विद्यालयमा पठाउँदा हुन्छ । टाढाको विद्यालयमा परीक्षा दिन छोराछोरी पठाउँदा अभिभावकलाई सास्ती पनि हुँदैन । आर्थिक बोझ पनि बेहोर्नुपर्दैन ।
अन्यत्र परीक्षा केन्द्रमा परीक्षा दिन पठाउँदा कोठा भाडा, खानका लागि ऋण गरेर पठाउनुपर्ने अभिभावक उत्तिकै छन् । शिक्षकलाई अर्को विद्यालयमा परीक्षा लिन पठाउँदा सरकारको लगानी मात्रै बढ्ने हो । अहिले पनि सरकारले परीक्षामा गार्ड बसेबापत भत्ता दिइरहेकै छ ।
सुर्खेत, पञ्चपुरी नगरपालिका–३ चौरका ७० वर्षीय काले रोकायले आफू निरक्षर भए पनि छोरी गौरीकलालाई १० कक्षासम्म पढाउने सपना देखेका थिए । १५ सय ऋण काढेर एसईई दिन दुई घण्टा टाढाको बाबियाचौरस्थित परीक्षा केन्द्र पठाएका उनले त्यो सपना पूरा गर्न पाएनन् ।
हिँडडुल गर्न पनि समस्या भएपछि रोकायले छिमेकीलाई छोरीका लागि कोठा खोजिदिन आग्रह गरेका थिए । परीक्षा अवधिभर (१५ दिन) को एक हजार रुपैयाँ भाडामा कोठा भेटियो । रोकाय परिवारको आर्थिक अवस्था यति कमजोर थियो कि त्यही खर्च जोहो गर्न पनि छिमेकीसँग ऋण लिनुपर्यो । छिमेकीसँग एक हजार ५ सय ऋण लिएर छोरीलाई खर्च पठाएको रोकायले सम्झिए । ‘छोरी जाँच दिन जाने भनेपछि गाउँमा ऋण खोजेर पठाएँ,’ उनले फोनमा कान्तिपुरसँग भने, ‘जाँच दिन पठाउँदा छोरी गुमाएँ ।’ गौरीकला उनकी कान्छी छोरी हुन् ।
परीक्षाको तयारी कक्षा लिन कोचिङ पढाएको ऋण पनि अझै तिरेका छैनन् । गौरीकला चैत ४ गते घरबाट ओढ्ने–ओछ्याउने बोकेर बाबियाचौर पुगेकी थिइन् । घरबाट कहिल्यै टाढा नगएकी छोरी १५ दिन टाढिने भएपछि ६० वर्षीया आमा गामदेवी खिन्न भइन् । ‘१५ दिनसम्म अर्काका ठाउँमा के खान्छे, कसरी बस्छे भन्ने चिन्ताले रुँदै आमाछोरी छुट्टिएका थिए,’ रोकायले फोनमा सुनाए, ‘मरेको खबर सुन्दा सपनाजस्तो लाग्यो ।’
गौरीकला अंग्रेजी र नेपाली विषयको परीक्षा दिएर चैत १० गते शनिबार चैते दसैं मनाउन घर आइन् । भोलिपल्ट फर्किइन् । १२ गतेको परीक्षा पनि दिइन् । त्यही राति उनी कोठामा मृत भेटिइन् । ‘हाम्रो परिवारमा आठ कक्षाभन्दा बढी पढ्ने कोही थिएन । छोरीले एसएलसी पास गरेको हेर्ने रहर थियो,’ रोकायले भने, ‘छोरी घरबाट गएको भोलिपल्टै हामीलाई शत्रु लाग्यो ।’