पढ्न करिब 3 मिनेट लाग्छ

वैशाख १३, सुर्खेत । कर्णाली प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७४।०७५ को तीन महिने बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा अर्थ मन्त्रालयका अर्थमन्त्री प्रकाश ज्वालाले १ अर्ब २ करोड ५ लाखको बजेट संसद बैठकमा प्रस्तुत गरेका हुन् ।यसमध्ये चालुतर्फ ४३ करोड ८४ लाख ३ हजार र पूँजीगततर्फ ५८ करोड २० लाख ९७ हजार विनियोजन गरिएको छ ।

बजेटमा सुर्खेत–जुम्ला केवुलकार र बर्दिया–सुर्खेत सडकमा सुरुङ्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको छ । यस्तै, प्रदेशका भौतिक पूर्वाधार, पर्यटन र विद्युतलाई उच्च प्राथमिकता राख्दै बजेट विनियोजन गरेको आन्तरिक मामिला तथा अर्थ मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले बताए । उनले प्रदेशभित्रका भौतिक पूर्वाधार अन्तर्गत सडक पुल निर्माणमा १३ लाख, विद्युत विकासमा २० लाख, व्यवस्थित शहरीकरणमा ६० लाख र तटबन्धन तथा बाँध निर्माणमा २० लाख, सिँचाई संरचना मर्मत सम्भारमा ७५ लाख र खानेपानी समस्यालाई समाधान गर्न १ करोड २० लाख रकम विनियोजन गरिएको जानकारी दिए ।

यता प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बजेटले समेट्नु पर्ने कतिपय विषयहरु नसमेटिएको भन्दै संसदको छलफलमा सुझावका रुपमा राख्ने बताए । कर्णाली प्रदेशलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न अध्ययन गरेर रणनीति तयार गर्ने, घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्न नीति तयार गर्ने, सुर्खेतसहित सल्यान, जुम्ला लगायत जिल्लामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न समेत बजेट विनियोजन गरिएको छ ।

ताल तथा झरना संरक्षण सम्बद्धन गर्न १ करोड २८ लाख ९८ हजार र प्रदेशका सवै जिल्लामा भ्यू टावर पार्क, पदमार्ग तथा स्मृति भवन निर्माण गर्न १ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेशका रैथाने बालीको सरक्षण गरिने र हिमाल बचाउ अभियान सञ्चालन गर्न रणनीतिक कार्ययोजना तयार गर्ने बजेट बक्तव्यमा उल्लेख छ ।

बाँकेको जमुनाहा कोहलपुर सुर्खेत हिल्सा सडकलाई प्रधानमन्त्री द्रुत लोकमार्ग, छिन्चु–सल्यान–जाजरकोट रुकुम–डोल्पा–धो मोरिम्ला नाका जोड्ने भेरी करिडोर सडक, लुम्बिनी हुँदै दाङ–सल्यान–जाजरकोट–जुम्ला–मुगु रारा जोड्ने लुम्बिनी रारा पर्यटन सर्किट तथा राजापुर बर्दिया सुर्खेत रानीघाट फलाटे दैलेख महाबु–कालिकोट–चिलखाया–नाग्म–गमगढी–नाक्चेलाग्ना सडकलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा सम्भाव्यता अध्ययन गरिनेछ । तर यो सडकमा गमगढी नाक्चेलाग्ना खण्डलाई प्राथमिकतामा राखिएको ज्वालाले बताए ।

निर्माणाधिन सुर्खेत हिल्सा कर्णाली करिडोर सम्पन्न गर्न प्राथमिकताका साथ कार्य अगाडि बढाउने, रामघाट–मोटी–रानीघाट–हरिहरपुर–तातोपानी हुँदै प्रदेश नं. ७ को कर्णाली चिसापानी जोड्नका लागि सम्भाव्यता अध्ययन गरिने, सुर्खेत कोहलपुर सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउन केन्द्रीय सरकारसंग सहकार्य गर्ने, लुम्बिनी हुँदै दाङ सल्यान जाजरकोट जुम्ला मुगु रारा जोड्ने लुम्बिनी रारा पर्यटन सर्किटलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाईनेछ । बजेट माथिको दफावार छलफल शुक्रबार बस्ने संसद बैठकमा गरिने छ ।

यसैबीच, कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्ले आर्थिक वर्ष ०७४/७५को सेवा र कार्यहरूको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।