जेठ २९, काठमाडौँ | प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् ।

महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रहरीले जनाएको छ ।

शिक्षक र सोही विद्यालयकी शिक्षिकाबीच लेनदेनको विषयलाई लिएर आइतबार फोनबाट शिक्षिकाले जिल्ला प्रहरी कार्यालयलाई आफू माथि हातपात गरेको जानकारी गरेपछि सादा पोशाकका प्रहरीले सोमबार शिक्षकलाई नियन्त्रणमा लिई जिप्रका ल्याउँदै थिए ।

घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिई महाकाली यातायात समितिको म१ज २१२ नम्बरको जिपबाट ल्याउँदै गर्दा रैखोला नदीमा हामफालेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धापबाट जिल्ला प्रहरी कार्यालय खलंगा ल्याउने क्रममा किम्तडीभिरमा अचानक चालकलाई झम्टेर गाडीको ढोका खोली चलिरहेकै गाडीबाट महाकाली नदीमा हामफाली बेपत्ता भएको जिप्रकाले जनाएको छ ।

- यो खबर आजको कान्तिपुर दैनिकमा छ ।