२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशको पाँच महानगरमध्ये भरतपुरको बजेट सबैभन्दा कम

२०७५, ११ असार सोमबार १४:२८

नारायण अधिकारी | असार ११, चितवन | नेपालका पाँच वटा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम देखिएको छ । 

भरतपुर महानगरपालिकाले आव २०७५/०७६ का लागि रु तीन अर्ब ३४ करोड पाँच लाख आयव्ययको प्रस्ताव गरेको छ । जसमध्ये पूँजीगतभन्दा चालू खर्च बढी छ । 

चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१ दशमलव शुन्य चार प्रतिशत तथा पूँजीगततर्फ रु एक अर्ब ६२ करोड ५६ लाख अर्थात् कुल बजेटको ४८ दशमलव ६६ प्रतिशत रहेको छ । भरतपुर महानगरको आन्तरिक आम्दानी रु ५५ करोड अनुमान गरिएको छ । 

नेपालमा काठमाडौँ, भरतपुर, पोखरा लेखनाथ, बीरगञ्ज, विराटनगर र ललितपुर गरी ६ वटा महानगरपालिका छन् । 

तीमध्ये ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेको छैन । बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको सो महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने निर्णय गरेको पनि जनाएको छ । 

काठमाडौँ महानगरपालिकाले रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्ताव गरेको छ । जसमध्ये आन्तरिक आय रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार छ । 

त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाले रु छ अर्ब ५३ करोड ६५ लाखको बजेट प्रस्ताव गरेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु एक अर्ब ६९ करोड ९० लाख अनुमान गरिएको छ । 

वीरगञ्ज महानगरपालिकाले रु चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको बजेट प्रस्ताव गरेको छ । तीमध्ये चालु खर्चतर्फ २९ दशमलव एक प्रतिशत र पूँजीगत खर्चतर्फ ७० दशमलव ६ प्रतिशत रहेको छ । सो महानगरपालिकाले आन्तरिक आयतर्फ रु ५९ करोड ५३ लाख ६० हजार अनुमान गरिएको छ । 

यस्तै विराटनगर महानगरपालिकाले रु चार अर्ब ४७ करोड आठ लाख ४९ हजारको बजेट प्रस्ताव गरेको छ । जसको आन्तरिक आय रु ५४ करोड तीन लाख रहेको छ । 

महानगरपालिकाले सार्वजनिक गरिएको बजेटमध्ये भरतपुरको सबैभन्दा कम रहेको तथ्याँकले देखाउँछ । 

भरतपुर महानगरमा २९ वडा रहेका छन् । जसमध्ये धेरै वडा ग्रामीण क्षेत्रमा पर्दछन् । जसका कारण विकास निर्माणमा ती क्षेत्रमा बजेटको बढी माग हुने गरेको छ । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अन्य महानगरपालिकामा विदेशी दाताको लगानीमा सञ्चालित परियोजनाको रकमसमेत बजेटमा रहेकाले भरतपुरको बजेट आकार सानो देखिएको बताउनुभयो । 

उहाँले आन्तरिक आम्दानीमा विराटनगर र वीरगञ्ज महानगरपालिकाको हाराहारी रहेको बताउँदै करको दायरा फराकिलो बनाउँदै आम्दानी बढाउनेतर्फ महानगर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले विभिन्न परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी प्रदेश र संघीय सरकारका मन्त्रालयमा बजेट माग गर्ने बताउनुभयो । 

यस महानगरपालिकाभित्र औद्योगिक क्षेत्र नहुनु, पर्यटन व्यवसाय कम हुनुलगायतका कारण आन्तरिक आय कम भएको बताउँदै प्रमुख दाहालले आम्दानी बढाउनका लागि उत्पादनमूलक क्षेत्रको विकासका लागि महानगर लाग्ने छ भन्नुभयो । 

महानगरपालिकाका उपप्रमुख पार्वती शाहले आन्तरिक आम्दानी कम भएका कारण बजेट सानो भएको बताउनुभयो । उहाँका अनुसार चालू आवमा आन्तरिक आम्दानी ३० करोड हाराहारी पुग्ने अनुमान छ । 

आउँदो वर्षका लागि प्रस्तावित गरिएको रु ५५ करोड आफैँमा ठूलो लक्ष्य लिइएको उहाँले बताउनुभयो । सबैको साथ र सहयोग रहेमा आम्दानी बढाएर विकास निर्माणमा जुट्न सकिनेमा उपप्रमुख पार्वती शाहको विश्वास छ । 

उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले महानगरलाई उत्कृष्ट बनाउन आर्थिक कारण मात्रै नभएर व्यवस्थापकीय विषय पनि महत्वपूर्ण हुने बताउनुभयो । 

करको दायरा फराकिलो बनाउँदै एकातर्फ राजस्व बढाउनुपर्ने र अर्कोतर्फ कम लागतमा हुने काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । 

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेमा आम्दानी बढाउन सकिने बताउनुहुन्छ । उहाँले विकास निर्माणमा भन्दा उत्पादनमूलक क्षेत्रमा महानगरले बढी ध्यान दिन सकेमा आउँदा वर्षमा आन्तरिक आय बढ्ने धारणा व्यक्त गर्नुभयो । 

भरतपुर महानगरपालिकाका अधिकांश भाग चितवनको क्षेत्र नं ३ मा पर्दछ । यस क्षेत्रबाट पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित हुनुभएको छ । जसका कारण केन्द्रीय सरकार र प्रदेश सरकारबाट थप बजेट आउने आशमा नगरबासी छन् । 

यसअघि दाहालकै पहलमा दुई अर्बभन्दा बढी बजेट निकासा गरी विकास निर्माणको काम हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी