भदौ २०, काठमाडौँ | सोमबार बिहान ११ बजे । काठमान्डुको गुहेश्वरी मन्दिरमा मानिसहरूको बाक्लो भीड थियो । विवाहित जोडीहरु मन्दिरबाट बाहिरिन्थे । बिहे गर्न लागेकाहरु घुम्टो ओड्दै भित्रिन्थे । पूजाको थाली बोकेका भक्तजनहरु ओहोरदोहोर गरिरन्थे । मन्दिरभित्र बजिरहने घन्टीको आवाज र पिपलको बोटमा नाच्ने चराको चिरबिरले वातावरण रोमान्चित थियो ।
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मन्दिरको गेटमा देखापरे । उनका फ्यानहरु सेल्फी खिच्न झुम्मिए । उनीहरु समता स्कुलका सञ्चालक उत्तम संजेलको जन्ती बन्न पुगेका थिए । संजेल र मनोज गजुरेल पनि आइपुगे । त्यही हुलमा ठाँटिँदै आए निलो सुट–पाइन्ट र निलै ह्याट लगाएका एकजना विदेशी । एकछिन सेल्फी खिचेर सेलिबे्रटीहरु मन्दिरभित्र पसे । तर, ती बृद्ध ढोकामा अचानक टक्क रोकिए । गहिरो गरी भित्तामा हेरे । त्यसपछि उनका पाइला अघि बढेनन् । गेटबाहिरै रोकिए उनी । फर्किए लुसुक्क । एकछिन अघि हर्षित मुद्रामा गफिरहेका ती बृद्धको अनुहारबाट एकाएक चमक हरायो । हुरीले ढालेको मकैबारी जस्तै सिताङ्ग देखिए । कुहिरोले छोपेको हिमाल जस्तै अध्यारो देखियो उनको अनुहार । केही बोलेनन् । मलिन अनुहार लिएर बागमतीको किनारतिर गए । नियालेर एकोहोरो हेरिरहे धमिलो बागमती ।
पाँच मिनेटमा सकिने भनिएको बिहे अलि बेरमा सकेर सबैजना बाहिरिए । तर दुलाहा दुलही भित्रै बसे । ती बृद्ध मन्दिरको गेटमा उनीहरुलाई कुर्न थाले । मन्दिरभित्रबाट बाहिरिने प्रत्येक मानिसको अनुहारमा नियालेर हेर्थे । बेलाबेलामा घाँटी तन्काएर मन्दिरभित्र पनि हेर्थे । कहिले बागमती किनारातिर जान्थे, कहिले पीपलको बोटमूनी पुग्थे । कहिले पूजाको सामान बेचिरहेकी युवतीसँग नेपाली भाषामै गफिन्थे । तर पटकपटक आँखा डुलाइरहन्थे, मन्दिरको सिँडीतिर ।
उनको नजिक गएँ । परिचय दिएँ । उनी ७५ वर्षीय बेलायती नागरिक जोन रहेछन् । मन्दिर बाहिरै घुमिरहनुको कारण उनले खोले । ‘म उत्तम संजेलको बिहेमा आएको । तर ऊ त्यहाँ इन्ट्रान्स फर वन्ली हिन्दु (हिन्दुका लागि मात्र प्रवेशाधिकार) लेखिएको रहेछ । त्यसैले भित्र गइनँ’, सूचनातिर देखाउँदै उनले भने ।
उनी बोल्दा बोल्दै भावुक भए । घोसेमुन्टो लगाए । खैरो आँखाको डिलडिलै आँशु टिलपिल टिलपिल हुन थाल्यो । चाउरिएको गालाबाट आँशुको थोपा एकएक गरी खस्न थाल्यो । उनले बिस्तारै भने, ‘के हिन्दु, के बुद्धिष्ट, के क्रिश्चियन, भगवान सबैको एकै हो ।’ त्यसपछि उनी बोलेनन् । चुपचाप बसे । रसिलो आँखाले एकपटक मन्दिरको सिडीतिर हेरे ।
‘मैले गीता पढेको छु । सबै धर्मको किताव पढेको छु । भगवान सबैको एकै हुन्छ । भगवानलाई यसरी भाग लगाउनु राम्रो होइन,’ उनी थरथर कामेको स्वरमा भन्दै थिए, ‘मन दुख्छ नि, किन नदुख्नु ? यो भगवानको घर हो । भगवानको घरमा सबै मान्छे जान पाउनुपर्छ ।’,
- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।