पढ्न करिब 2 मिनेट लाग्छ

असोज २१, काठमाडौँ | करण केसीको अलराउण्ड प्रदर्शनसँगै नेपालले टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि सहज जित हात पारेको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर मात्र १८ रन बनाउँदा पानी परेको थियो । सन्दीप लाछिछाने एक्लैले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ८ रन खर्चिए । करण केसीले ३ विकेट लिए । १.५ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।

यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले इनिङ्स उकासे । उनले सर्वाधिक अविजित ४० रन बनाए । उनले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् । त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे ।

यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए ।

अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे ।

थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

करण म्यान अफ दि म्याच बने ।