माघ १४, बाजुरा | लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक विद्यालयको भवन भत्किँदा विद्यार्थीको दिवा खाजाको सामग्रीमा क्षति पुगेको छ ।
चोलूमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको विद्यालयले जानकारी दिएको छ । विद्यालयको दुई कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठनपाठनमा समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक पदमलाल रेग्मीले बताउनुभयो ।
कक्षा कोठामा राखिएको दिवा खाजाको सामग्रीसहित काठसमेत छोपिँदा विद्यालयको झण्डै रु ६ लाख बराबरको सामानमा क्षति भएको विद्यालयका सहयोगी नन्दराम विष्टले जानकारी दिनुभयो । बाजुरामा पाँच दिनदेखि भारी हिमपात भइरहेको छ । रासस