७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मेला महोत्सवले बिर्साए रोल्पालीको द्वन्द्वकालीन घाउ

१५ माघ २०७५, मंगलवार ११:१२

उमा केसी । माघ १५, रोल्पा (रासस) । दशवर्षे लामो सशस्त्र युद्धमा ठूलो पीडा भोगेका रोल्पाली शान्ति प्रक्रिया पछि भने विभिन्न मेला महोत्सवमा रमाउन थालेका छन । 

युद्धताका जिल्लाको एक स्थानबाट अर्को स्थानमा जानुपर्दा अनुमति लिनुपर्ने बाध्यता भोगेका यहाँका बासिन्दा शान्ति प्रक्रिया पछि भने स्वतन्त्र ढङ्गले आवतजावत गर्दै मनोरञ्जनमा समेत सहभागिता जनाउन थालेका हुन् । द्वन्द्वका कारण मनोसामाजिक समस्या भोगेका उनीहरु मेला महोत्सवमा हुने रमाइलोसँगै द्वन्द्वका घाउसमेत बिर्सन थालेका छन् । 

सङ्घीय संरचनासहितको जनप्रतिनिधि चयन भएसँगै जिल्लामा विभिन्न मेला महोत्सव र खेलकूद कार्यक्रमले तीव्रता पाएका छन् । स्थानीय सरकारले ठूलो धनराशि यसै क्षेत्रमा खर्च गरिरहेका छन् । जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन, संस्कृति र खेलकूद क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले मेला महोत्सव गर्नेको ताँती लागेको छ । 

स्थानीय सरकार, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत लगानीमा समेत यस्ता मेला महोत्सव सञ्चालन हुने भएका छन् । माघ २ गतेदेखि शुरु भएको महोत्सव फागुन पहिलो सातासम्म चल्ने भएको छ । 

माघ २ गते रोल्पा नगरपालिकाको माडीचौरमा माघी तथा खेलकूद महोत्सवका नाममा शुरु भएको उक्त महोत्सव चतुर्भुज महोत्सवका नाममा फागुन पहिलो सातापछि खुङ्ग्रीमा पुगेर समापन हुनेछ । महोत्सव उद्घाटन गर्न प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, मन्त्री वर्षमान पुन तथा राष्ट्रियसभा र प्रदेशसभामा रोल्पाबाट निर्वाचित जनप्रतिनिधि रोल्पा आउनेक्रम शुरु भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माघ २ गते माडीचौरको माघी तथा खेलकूद महोत्सव उद्घाटन गर्नुभयो । मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्ती र प्रदेशसभा सदस्य दीपेन्द्र पुन मगरको पनि उपस्थिति थियो । विगत केही वर्षयता निरन्तररुपले सोही मितिमा चल्दै आएको उक्त महोत्सवलाई यस वर्ष विगतमा झैँ खासै प्रचारप्रसार भने गरिएको थिएन । यसपूर्व सो महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहे पनि यस वर्ष भने सङ्घीय सरकारका मन्त्री पुनले प्रमुख आतिथ्यता ग्रहण गरी उद्घाटन गर्नुभएको थियो । 

महोत्सवमा स्थानीय कलासंस्कृति र वेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको थियो । मौलिक संस्कृतिको संरक्षणलाई जिवन्त राख्न यस्ता महोत्सवले ठूलो भूमिका खेल्ने महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र घर्तीले बताउनुभयो । 

यसैगरी माघ ३ गते उत्तरी रोल्पाको थबाङ गाउँपालिकाले गाउँपालिका कप भलिबल प्रतियोगिता आयोजना गरेको थियो । महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता हुने उक्त महोत्सवलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभएको थियो । 

भलिबलका क्षेत्रमा जिल्लामा हालसम्मकै ठूलो राशि पुरस्कारसहित उक्त प्रतियोगिता आयोजना भएको थियो । गाउँपालिकाले आयोजना गर्ने उक्त गाउँपालिका कप भलिबल प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ५० हजार पुरस्कारको व्यवस्था गरिएको थवाङ गाउँपालिकाले जनाएको छ । 

उक्त प्रतियोगिता साताव्यापी चलेको थियो । खेलकूदमार्फत थवाङको कलासंस्कृतिको प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताउनुभयो । खेलकूद महोत्सवका अवसरमा थवाङ हेर्न गाउँपालिका बाहिरबाट ठूलो सङ्ख्यामा मानिस आउँदा यहाँका व्यवसायीलाई पनि फाइदा पुगेको गाउँपालिकाको बुझाइ छ । 

जिल्लाको सुनिल स्मृति गाउँपालिका सुलिचौरमा माघ १८ देखि २४ सम्म रोल्पा उद्योग वाणिज्य सङ्घले दोस्रो रोल्पा महोत्सवको आयोजना गर्न लागेको छ । महोत्सवलाई सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा बहालवाला र पूर्वजनप्रतिनिधिको आतिथ्यता रहने आयोजक समितिका संयोजक विश्वकुमार चन्दले जानकारी दिनुभयो । 

महोत्सव अवधिभर ६० हजारभन्दा बढीले अवलोकन गर्ने र त्यसबाट रु दुई करोड बढीको कारोवार हुने रोल्पा उद्योग वाणिज्य सङ्घको लक्ष्य छ । महोत्सवलाई सबै पक्षको सहभागितामा सम्पन्न गर्ने तयारी भइरहेको बताइएको छ । 

सर्वपक्षीय सहभागितामा २२३ सदस्यीय मूल आयोजक समिति बनाएर कामको थालनी गरेका छाँै रोल्पा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केशवकुमार आचार्यले जानकारी दिनुभयो । 

माघ २५ देखि साताव्यापीरुपमा पूर्वी रोल्पाको खुङ्ग्रीमा चतुर्भुज महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको छ । स्थानीय व्यापारी इमानसिं विष्टको अगुवाइमा हुने उक्त महोत्सवकोसमेत जिल्लामा प्रचारप्रसार भइरहेको बताइएको छ । पूर्वी क्षेत्रको कृषि, व्यापार, कलासंस्कृति र पर्यटन क्षेत्रको विकासका लागि आफूहरुले उक्त महोत्सव आयोजना गर्न थालेको इमान विष्टको भनाइ छ । 

यस्ता मेला महोत्सवले आपसी सम्बन्ध र भाइचारालाई समेत प्रवद्र्धन गर्ने बताइन्छ । द्वन्द्वको लामो चपेटामा परेका जिल्लावासी एकै ठाउँमा बसेर भलाकुसारी गर्ने र विगत भुल्दै मनोरञ्जन गर्ने साधन पनि बन्दै जान थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान