2026-07-25 02:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा अवरोध

माघ २२, बागलुङ | अवरोध नहट्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्डको काममा असर परेको छ । सडक मापदण्डभित्र परेका घरटहरा, खानेपानीको पाइप र ट्याङ्की हटाउन र केही ठाउँका पीपलका रुखसमेत मास्न स्थानीयवासीले नदिएकाले सडक निर्माणमा अवरोध भएको हो । 

तेह्र किमीको उक्त खण्डमा १० किमी सडक ‘ग्राबेल’ भइसके पनि बाँकी तीन किमीको काम रोकिएको छ ।अवरोध हटेमा आउँदो जेठभित्रै कालोपत्र गर्न ठेकेदार कम्पनी तयार छ । अबरोध भएका ठाउँ छाडेर बीचबीचमा कालोपत्र गर्न नमिल्ने सिद्धीसाई प्रकाश कन्सट्रक्सनका सहायक प्रमुख पुष्पकुमार शाहीले बताउनुभयो । 

“अवरोध तत्काल हट्नुपर्छ, आयोजनाको यसमा ध्यान जाओस्’ उहाँले भन्नुभयो, “हामी वैशाख, जेठभित्रै कालोपत्र गर्न तयार छौँ ।” उहाँका अनुसार सडक विस्तारका लागि १०÷१२ घरटहरा हटाउनुपर्ने अवस्था छ । 

यस्तै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाका पाइपले पनि काममा समस्या निम्त्याएको छ । आयोजनाले सडक खन्दा क्षति भएका पाइप किन्न र ठाउँ सार्न संस्थालाई रु ३३ लाख बुझाइएको थियो । 

ठेकेदार कम्पनीले संस्थाले बेलैमा काम नगरेको आरोप लगाएको छ । “दुईसय मिटर जतिमा अझै पाइप सार्न बाँकी छ”, ठेकेदार कम्पनीका सुपरभाइजर गणेश सुवेदीले भन्नुभयो । केही ठाउँमा स्थानीय खानेपानी आयोजनाका ट्याङ्कीसमेत हटाउनुपर्ने देखिएको छ । 

संस्थाका प्रबन्धक हिमाल शर्माले पहिले सहमति भएअनुसार पाइप सार्ने काम सकिएको बताउनुभयो । “अझै केही ठाउँमा सार्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “आयोजनाले थप बजेट या पाइप उपलब्ध गराए तत्काल काम हुन्छ ।” 

सोही खण्डमा पर्ने बिजुलीका खम्बा सार्न आयोजनाले विद्युत् कार्यालयलाई रु आठ लाख उपलब्ध गराएको थियो । बागलुङ–अछेते खण्डमा खम्बा हटाइएको र अछेतेदेखि–बयलडाँडा खण्डमा खम्बा हटाउन बाँकी छ । 

मुआब्जा र क्षतिपूर्तिको टुङ्गो समयमै नलाग्दा मापदण्ड विपरीतका संरचना हटाउन ढिलाइ भएको हो । लोकमार्गका इञ्जिनीयर सरोज ढकालले अब काम नरोकिने बताउनुभयो । “धेरैको क्षतिपूर्ति आएसकेको छ, केहीको आउन बाँकी छ”, उहाँले भन्नुभयो, “विवादित घरजग्गासँगै अन्य अवरोध हटाएर काम अघि बढाउँछौँ ।” 

लोकमार्गको बिहुँ–घोडाबाँधे खण्डमा पनि कालोपत्रका लागि तयारी गरिएको छ । उक्त खण्ड निर्माणको जिम्मा ‘सुर्य कन्सट्रक्सन’ले लिएको छ । सडक विस्तार, नाली, पर्खाल र ‘ग्राबेल’को काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । दुवै खण्डको ठेक्का सम्झौताको म्याद आउँदो माघ सम्म छ । 

जिल्लाको पश्चिम क्षेत्रमा लोकमार्ग कालोपत्रे भइसक्दा पनि सदरमुकामसँग जोडिएको खण्ड अझै कच्ची छ । पश्चिम बुर्तिबाङदेखि पूर्वी रुकुमको सीमा पातीहाल्नेसम्म ४५ किमी सडक पनि कालोपत्र हुन बाँकी छ । 

उक्त खण्डको निर्माण ‘कालिका प्यासेफिक’ र ‘इसिआर÷कन्काई’ ठेकेदार कम्पनीको जिम्मामा छ । घोडाबाँधे–बुर्तिबाङ ६४ किमी भने कालोपत्रे भइसकेको छ । यो हिउँदमा ‘ग्राबेल’ र अर्को वर्ष मङ्सिरभित्रमा लोकमार्गको बागलुङ खण्ड पूरै कालोपत्रे हुने आयोजनाले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक