माघ २३, विराटनगर – आजदेखि प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति दिन थालिएको छ । विराटनगरबाट पहिलो श्रम स्वीकृती धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेका विजय खड्कालाई दिइएको संगै श्रम स्वीकृती दिन थालिएको हो ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयलाई कतारको लागि पुन : श्रम स्वीकृत प्रदान गर्नुभएको हो । तीन महिनाको विदामा घर आउनुभएका विजयले विराटनगरबाटै श्रम स्वीकृती पाएपछि खुशी लागेको बताउनुभयो ।
काठमाण्डौ गएर श्रम स्वीकृत लिन निक्कै समय लाग्ने र झण्झटिलो हुँदा धेरै खर्च लाग्ने भन्दै उहाँले आफ्नै ठाउँबाट श्रम स्वीकृति लिन पाउँदा खर्च र समयको बचत भएको बताउनुभयो ।
उहाँ जस्ता धेरै श्रम स्वीकृतिको लागि विराटनगरमा रहेको श्रम कार्यालयमा आउन थालेका छन् । पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको विराटनगर श्रम कार्यालयमा विभिन्न कारण देखाउँदै मन्त्रालयले पोखरा र बुटवलबाट मात्र पहिलो चरणमा श्रम स्वीकृती दिन थालेको थियो ।
कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।
सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।