पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ८, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको आज बिहान स्थलगत निरीक्षण गर्नुभएको छ ।

पुलसँगै निर्माण भइरहेको पहुँचमार्ग र उक्त मार्गमा बनिरहेका पुलको समेत निरीक्षणपछि मन्त्री महासेठले निर्माण कम्पनीलाई काममा गति दिन निर्देशन दिनुभएको छ । भीमदत्तनगरपालिका–११, १२ र १३ का स्थानीयले पहुँच मार्ग निर्माणका क्रममा ऐलानी जग्गा भोगचलन गर्दै आएकालाई मुआब्जा तथा क्षतिपूर्ति दिन मन्त्रीसमक्ष माग गरेका छन् ।

स्थानीयवासीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महासेठले ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयलाई सरकारले उचित क्षतिपूर्ति दिने गृहकार्य गरिरहेको बताउनुभयो । “तपाईहरु ढुक्क हुनुस् मुआब्जाको विषय मन्त्रिपरिषद्मा पेश गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “विकास निर्माणका काममा तपाईहरुले पनि भरपुर सहयोग गर्नुपर्छ ।”

पुर्जा नभएका वर्षौंदेखि बस्दै आएका स्थानीयलाई मुआब्जा दिन नीति बनाउन मन्त्रिपरिषद्मा छलफलको चरणमा रहेको छ । महाकालीको तटीय क्षेत्रमा २०२२ सालदेखि ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले मन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

मन्त्री महासेठसँगै पुल निर्माणस्थलको निरीक्षणका लागि मन्त्रालयका सचिव मधुसुधन अधिकारीलगायत विभागका उच्च पदस्थ अधिकारी यहाँ आउनुभएको थियो । पहुँच मार्गमा पर्ने ऐलानी जग्गा र घरको क्षतिपूर्तिको विषय नटुङ्गिँदा सडक निर्माणको काममा ढिलाइ हँुदै आएको निर्माण कम्पनीले जनाएको छ ।