पढ्न करिब 2 मिनेट लाग्छ

चैत्र ७, पर्वत । कुश्मा नगरपालिका १४ आर्थरको जैसीरुम्टाका २८ वर्षीय गणेश पौडेलले २७ महिना कतारमा बिताए । धन कमाउँला र परिवारसँग रमाउँला भन्दै कतार पुगेका पौडेल २७ महिनामै नेपाल फर्र्किए । उनले त्यहाँ गर्ने मेहनत नेपालमै गरे दुई गुणा मुनाफा निकाल्ने सक्ने सोचका साथ नेपाल फर्किएको बताए ।

अहिले उनको दैनिकीको तालिका नै फेरिएको छ । विहानदेखि बेलुका अबेरसम्म उनको हात खाली हुँदैन । कामले उनलाई फुर्सद हुँदैन । अण्डा एकै ठाउँमा जम्मा पारेर बजारमा पठाउनु, फ्रेस आउसमा मासु काट्नु उनको नियमित काम बनिसकेको छ । उनको यो दैनिकी भने विदेशी भूमिमा बगाएको पसिनाले सिकाएको पाठ हो ।

विदेशी मोहले व्यवसायमा ब्रेक

पौडेलले आठ वर्षदेखि कुखुरापालन गर्दै आएका थिए । तर मनमा विदेश पुगेपछि रातरात सम्पन्नशाली हुन्छु भन्ने उनमा आशा पलायो त्यसपछि उनी कतार हानिए । कतारमा उनले हेल्परको काम पाए । तर उनले त्यहाँ यति धेरै मिहिनेत गर्नुपर्यो जति उनले नेपाल छँदा गरेका थिएनन्। विदेशी भूमिमा बगाएको नेपाली पसिनाप्रति उनलाई पश्चात्ताप लाग्यो। उनी २७ महिनाको कतार बसाइपछि नेपाल फर्किए।

‘त्यहाँ पुगेर त्यति धेरै मिहिनेत गर्नुपर्ने रहेछ, त्यतिकै काम यहाँ गर्ने हो भने त त्यहाँभन्दा दोब्बर कमाई घर परिवारसँगै बसेर हुन्छ भन्ने लागेर नै कतारबाट फर्किएको हुँ’ गणेशले भने ।

तरकारी पनि उत्पादन

उनले कुखुरा पालनमात्रै होइन तरकारी खेती पनि गरेका छन् । आफैले फ्रेस हाउस पनि चलाएका छन् । उनले टनेलमा गोलभेँडा, सिमी, बोडी, काक्रा लगायतका अन्य तरकारीहरु पनि लगाउने गरेका छन् । मौसमी, बेमौसमी दुवै थरिका तरकारी उनले उत्पादन गर्ने गरेको बताए ।

मासिक ७० हजार मुनाफा

कतारबाट फर्केका पौडेलले अहिले कुखुरापालन र तरकारी खेती गरेका छन् । झन्डै १५ लाखको लगानीमा उनले जहरे पोल्ट्री तथा कृषि फर्म सञ्चालन गरेका उनको खोरमा अहिले ६०० बोइलर र २०० लेयर्स जातका गरेर ८०० कुखुरा छन् । मासिक ६ हजार अण्डा उत्पादन हुन्छ , उनको फर्मबाट उत्पादन हुने गरेको छ ।

उनले पालेका कुखुराबाट एक महिनामा ६ हजार अण्डा उत्पादन हुन्छ। विदेशमा रहँदा ३० हजार रुपैयाँका लागि सङ्घर्ष गरेका गणेशले मासिक झन्डै ७० हजार रुपैयाँ बराबर त अण्डाको मात्र कारोबार गर्ने गरेका छन् ।

‘काम गर्ने हो भने विदेशमा भन्दा नेपालमै धेरै मुनाफा निकाल्न सकिन्छ’ उनले भने ।