सास | जेठ १३, काठमाडौँ | अंग्रेजी शब्द 'सरोगेसी' को नेपाली बुझाईको भाषामा रुपान्तरण (भाडाको कोख) भन्ने बुझिन्छ । आफ्नो कोख भाडामा दिएर अरुको लागि बच्चा जन्माइदिने विधिलाई सरोगेसी सेवा भनिन्छ ।
बच्चाको जन्म कसरी हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । कुनै पनि स्त्री र पुरुषबीच यौन सम्बन्ध भएपछि गर्भाधान हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर सबै महिला पुरुष यो क्रियामा सक्रिय हुन्छन् भन्न सकिन्न किनभने केहि महिला तथा पुरुषले सयौं कोशिस गर्दा पनि गर्भाधान प्रक्रियामा आफुलाई सक्रिय बनाउन सक्दैनन् अर्थात जति कोशिस गर्दा पनि बच्चा जन्माउन सक्दैनन् । विवाह भई सकेपछि बच्चाबच्ची जन्माउने काम सर्वस्वीकार्य र सामान्य कुरा हो । तर बिबाहित जोडी मध्ये कुनै एक जना सारीरिक रुपमै बच्चा जन्माउने कार्यमा असक्षम हुन सक्छन् यस्तो अवस्थामा उनीहरुले बिभिन्न हस्पिटलमै पुगेर उपचार गराउने कोसिस गर्छन् तर पनि भएन भने उनीहरुले अरुको कोखमा आफ्नो बच्चा राखेर जन्माउने बिकल्प खोज्न सक्छन् । यसैलाई 'सरोगेसी' सेवा भनिन्छ । तर पछिल्लो समय यसको दुरूपयोग बढेपछि नेपाल सहित अधिकांश देशमा यो सेवा अवैध छ ।
महिला-पुरुष सहबास गरेर जति उपाय रचे पनि गर्भाधान नै नहुने वा गर्भाधान भए पनि बच्चा सकुशल जन्मन नसक्ने अवस्था हुनेहरुको लागि 'सरोगेसी' सेवा बरदान नै हो । यस्तो कृत्रिम गर्भाधानको विकास क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रबर्ट एड्बर्डले सन् १९५० देखि ७० सम्म गरेको निरन्तरको प्रयासको उपलब्धि हो । जुन सन् १९७८ मा पहिलोपटक टेस्ट ट्युव बेबीको जन्म भएको थियो ।
यो बिकासले पाठेघर नष्ट भई काटेर फालिसकेका आइमाईले आफूले गर्भाधारण गर्न नसक्ने भए पनि आफ्नो डिम्ब र श्रीमानको शुक्रकीटमा कुनै खराबी नभए सरोगेसी सेवा अर्थात् भाडाकी आमासँग कोख भाडामा लिएर बच्चा पाउन सकिनेछ । अरूका लागि अर्कैको वीर्य वा डिम्ब र वीर्य दुवै आफ्नो गर्भमा बोकेर बच्चा आफ्नो पेटमा हुर्काउनु र अरुलाई दिनु सरोगेसी सेवा हो ।
पछिल्लो समय यसको बिकृति यसरी बिकास भयो कि कामकाजी, बेफुर्सदी तथा सम्पन्न परिवारका आधुनिक महिलाले गर्भधारण गर्न सक्ने क्षमता भएर पनि यौन सन्तुष्टिका लागि मात्र श्रीमानसँग शारीरिक सम्पर्क राख्ने तर नौ महिनासम्म गर्भ बोकेर बच्चा जन्माएर समय बिताइरहने झंजट तथा आफ्नो शारीरिक अवस्थालाई युवती अवस्थामै राख्नको लागि यो सेवाको दुरूपयोग गर्न थालेपछि यस सेवाले धेरै देशमा कानुनी मान्यता पाउन नसकको अवस्था छ । कतिपय बिदेशी महिलाले नेपालमा आएर भाडाको आमा मार्फत बच्चा जन्माई लैजाने र त्यसबापत पैसा लिने गरेपछि नेपालको सर्वोच्च अदालतले सन् २०१५ अगस्ट २५ मा सरोगेसी (भाडाको कोख) को सेवा रोकेको थियो र नेपालको मन्त्रिपरिषद्ले २०१५ सेप्टेम्बर १८ मा यसलाई सर्वोच्च अदालतको फैसलाको मितिदेखि नै लागू हुनेगरी औपचारिक रुपमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि सर्वोच्च अदालतले सन् २०१६ डिसेम्बर १२ मा अन्तिम फैसला सुनाएको थियो, जसअनुसार सन्तान हुन नसक्ने नेपाली विवाहित दम्पतीले मात्र यो सेवा लिन पाउँछन्, एकल महिला वा पुरुष, तेस्रोलिङ्गी जोडी र विदेशी नागरिकहरूले यो सेवा लिन पाउँदैनन् ।
कानुन अनुसार सरोगेसी सेवा नेपालभित्र प्रतिबन्धित भएको कारण यससँग सम्बन्धित अभिलेखको प्रक्रिया यहाँबाट गर्न सकिँदैन । उदाहरणका लागि जन्मको प्रमाण लिन नसकिने, नेपालबाहिर आइभीएफ / सरोगेसी सेवा लिएको भएपनि नेपालमा सन्तान जन्मेको छ भने उसको भिसा वा एक्जिट पर्मिट नपाइने अवस्था छन् । भिसा वा एक्जिट पर्मिट नभएको खण्डमा नवजात शिशुले नेपाल छोडेर बाहिर जान नपाउने अवस्था छ । तर पनि सरोगेसी सेवा दिने केही अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई अझै पनि यो सेवा प्राप्त गर्न सकिने सूचीमा राखिरहेका छन् । तर नेपालमा यो सेवा बिदेशीको लागि बिल्कुल गैरकानुनी हो ।
सन् १९८६ मा परोपकारी भावनाबाट प्रेरित हुँदै अमेरिकाबाट सुरु भएको सरोगेसी पद्धति बेलायत, जर्मनी, क्यानडा, अस्ट्रेलिया, मलेसिया लगायत अन्य मुलुक हुँदै सन् २००२ देखि भारतमा पनि सुरु भयो । केहि बर्ष अघि अमेरिका तथा युरोपमा एउटी युवतीले एकपटक सरोगेट आमा बनेकोमा २० हजार डलरसम्म लिने गरेकोमा भारतमा दुई हजार पाँच सयदेखि पाँच हजार डलरसम्मको कम लागतमै सरोगेट आमाले सुविधा उपलब्ध गराएको, त्यसमाथि एउटी नारी पाँच पटकसम्म पनि भाडाकी आमा बन्न पाउने सुविधा भएकाले संसारको ध्यान भारतर्फ केन्द्रित भएको थियो । यसरी बच्चा जन्माउँ चाहनेले भारतमै आएर सस्तो लागतमा ठेक्का दिन थालेका थिए । भारतजस्तो कयौं युवतीहरु देह व्यापारमा जीवन बिताउन बाध्यता भएको देशमा यो बिषयले व्यवसायिक रुप लिन थाल्यो । यौवन बेचेर गुजारा गर्नुपर्ने कयौं महिलालाई दुई हजार पाँच सय डलरबाट सुरु हुने यो सेवा पैसा कमाईको राम्रो बाटो बन्यो । सरोगेसीका दुष्परिणाम विश्लेषण गरी पश्चिमा मुलुकहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत लगायत जापानले समेत व्याापरिक सरोगेसी बन्द गरी नियम कानुन निर्माण गरेर लोक उपकारी सरोगेसीलाई मात्र मान्यता दिए । सरोगेसीका लागि आकर्षक गन्तव्य मानिने दुई मुलुक भारत र थाइल्याण्डले सुरुमा स्वस्थ पर्यटक भित्र्याउने नाममा विदेशीलाई पाठेघर भाडामा दिने कार्यलाई मान्यता दिए पनि त्यसको प्रभाव स्वरूप बेश्यावृत्ति भन्दा पनि भयानक रूपमा समाजमा विकृति बढ्न थालेपछि भारत र थाइल्याण्डले व्यावसायिक सरोगेसी सेवामा पूर्ण प्रतिबन्ध लगाएका थिए ।
'सरोगेसी' सेवालाई सर्वोच्च अदालतले नरोक्दासम्म नेपालमा यसको बिकृति स्वरूप बिभिन्न काण्डहरु मच्चिएका थिए । नेपाल थुप्रै अस्पतालले पैसाको लोभमा सरोगेसी गराउने एजेन्टसँग मिलेर टेस्टट्युव प्रविधिमार्फत भ्रुण प्रत्यारोपण र प्रसूति सेवा दिन् थालेका थिए ।
विदेशी एजेन्टहरुले नेपाली ग्राहकसँग मिलेर एउटा कोख खोजिएिबापत एक करोडसम्म दिने गरेको समाचारहरु बाहिरिए, त्यसो त नेपालका केहि अस्पतालहरुले ४०–५० लाख बुझेर कोख दिने आमालाई ४/५ लाख मात्र दिने गरेको कुरा बाहिरिए । नेपालकै बिबाहित दम्पतिको लागि यो सेवा बरदान मानिएपनि बिदेशी नागरिकहरुले नेपाल आई नेपाली नारीको कोखमा आफ्नो वीर्य प्रयोग गरेर विदेशी नागरिक उत्पादन गर्न थालेपछि यो सेवा नेपालमा घिनलाग्दो बन्न पुग्यो । नेपाली नारीको कोख अर्काको वीर्य बोकेर सन्तान उत्पादन गर्ने भाडो बनेपछि सन् २०१५ मा सर्वोच्च अदालत र तात्कालिन मन्त्रिपरिषद्ले यो कार्य कानुनी रुपमै बन्द गरायो ।
नेपालमा २०७२ साल वैशाख १२ गते महाभूकम्प गयो । नेपालीहरु महाभूकम्पको तनावमा रहँदै गर्दा भूकम्प गएको तेश्रो दिनको दिन वैशाख १५ गते इजरायली बोइङ बिमान इजरायलको मुख्य सहर मध्ये एक सहर तेलअभिमस्थित बेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । जसमा २ सय २९ यात्रुमध्ये १५ जना सरोगेट शिुशुहरु लगिएका थिए । नेपालमा जन्मेका ती सबै शिशुहरु ४२ दिन भन्दा कम उमेरका थिए । नेपालबाट नेपाली चेलीको कोखमा हुर्किएका ति बच्चाहरुसँग जन्म दिने आमा थिएनन् । किनभने तिनीहरुका आमा भाडामा प्रयोग भएका थिए । नेपालमा भूकम्पको चर्चाले इजरायलमा ठूलो महत्व पाएको थियो । त्यहाँको टेलिभिजनहरुले नेपालको भूकम्पको दृश्य देखाउंदै गर्दा उक्त दिन उक्त बिमानमा पुगेका १५ जना शिशुको बिषयमा पनि मिडियाले महत्वपूर्ण मिडिया कभरेज दिएका थिए ।
त्यस लगाएत बिभिन्न घटनाका बिषयमा नेपाली मिडियाहरुले कभरेज गरेपछि यो सेवाको बिबिध बिकृतिलाई ध्यानमा राखी सरोगेसी आमाको विधि र प्रक्रिया मानवमूल्यविरुद्ध रहेको दाबीसहित सर्वोच्चमा निवेदन परेको थियो । अहिले नेपालमा बिदेशीको लागि यो सेवा कानुनत: बर्जित छ । यदी यो प्रक्रियाबाट बिदेशीले नेपालमा बच्चा जन्माएको खण्डमा जन्मको प्रमाण लिन नसकिने, नेपालबाहिर आइभीएफ / सरोगेसी सेवा लिएको भएपनि नेपालमा सन्तान जन्मेको छ भने उसको भिसा वा एक्जिट पर्मिट नपाइने अवस्था छन् । जसले गर्दा जन्मिएको बच्चा विदेश लान पाइदैन । त्यसो त भिसा वा एक्जिट पर्मिट नभएको खण्डमा नवजात शिशुले नेपाल छोडेर बाहिर जान पाउँने कुरानै भएन । नेपालीको हकमा सन्तान हुन नसक्ने नेपाली विवाहित दम्पतीले मात्र यो सेवा लिन पाउँछन्, एकल महिला वा पुरुष, तेस्रोलिङ्गी जोडी र विदेशी नागरिकहरूले पाउँदैनन् ।