<p><b>भदौ २२, काठमाडौँ । </b>गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रियाशील बन्न आग्रह गर्नुभयो ।</p><p>सङ्घीयताको सफल कार्यान्वयन गर्न र सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य पूरा गर्नसमेत निजामती क्षेत्रको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन निजामती कर्मचारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै शुभकामना सन्देशमा उहाँले “नेपाली जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, सूचना र प्रविधिको अधिकतम उपयोग गर्न सक्षम प्रशासन अपरिहार्य छ” भन्नुभयो ।</p><p>‘सक्षम निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । </p>
September 8, 2019
काठमाडौँ - KTM, कास्की - KSK, लम्जुङ्ग - LMG, समाज
जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह
By साझासवाल
3 मिनेट पढाइ










