असोज १२, काठमाडौँ | काठमाडौँ बुढानीलकण्ठ नगरपालिका -४ स्थित क्वाँटोलमा रहेको मदन-आश्रित आदर्श आधारभुत विद्यालयले आइतबार शुभ-कामना आदानप्रदान तथा बाल प्रतिभा र साथै शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्रीको समुपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयको बिकास तथा योगदान गर्ने व्यक्तित्व तथा शिक्षक/शिक्षिकाहरुलाई सम्मानका साथै बाल प्रतिभालाई सम्मान गरेको हो ।
विद्यालयले अभिभावकहरुको समेत निमन्त्रणामा बालबालिकाहरुको प्रतिभाहरुको रुपमा नृत्य तथा नाटक समेत प्रस्तुत गरेको थियो ।
कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले मदन-आश्रित आदर्श आधारभुत बिद्यालयको बिकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पोखरेलले नेताहरुको नामबाट स्कुल खुल्दैमा सजिलो तरिकाले स्कुल चल्ने बारेमा नसोची स्थानीय जनताको साथ र समर्थन लिएर अगाडी बढ्न आग्रह गरे । बिद्यालयको लागि स्थानीय जनताले देखाएको मायाँलाई कायम राख्न स्कुलले अझै मेहनत गर्न उनले सुझाव दिए । मन्त्री पोखरेल आफैले स्कूलको शिलान्यास तथा उद्घाटन गरेको स्मरण गर्दै स्कुलका प्रधानाध्यापक राजाराम भण्डारीको ठूलो मेहनतले स्कुल संचालनमा रहेको बताउँदै स्कुल संचालनमा सहयोग गर्ने स्थानीय तथा व्यक्तित्वहरुलाई धन्यवाद दिए ।
मन्त्री पोखरेलले योजनाको खाका सहित आए स्कुलको बिकासको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बिद्यालयले आगामी दिनमा थप प्रगति गर्दै गएको हेर्न चाहेको बताए ।
कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले नजिकिदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गरे । वक्ताहरुले ठूलो संघर्षका बीच संचालनमा रहेको स्कुलको पठनपाठन तथा भौतिक संरचना निर्माणका क्रममा स्थानीयले गरेको सहयोगप्रति धन्यवाद दिँदै स्कुल संचालनमा टेवा पुर्याउने बिद्यालयका प्रधानाध्यापक राजाराम भण्डारी, सह-प्रधानाध्यापक तथा पारिश्रमिक समेत नलिई लामो समयदेखि अध्यापन गराउदै आएका शिक्षक/शिक्षिकाहरुको खुलेर प्रशंशा गरे ।
बिद्यालयका प्रधानाध्यापक भण्डारीले विद्यालयको वर्तमान गतिविधिबारे जानकारी गराउँदै शिक्षकहरुको सामुहिक मिहिनेतले नै विद्यालयले निरन्तर सुधार गर्ने प्रयास गर्दै आएको बताए । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमका बीच प्रधानाध्यापक राजाराम भण्डारीले आफ्ना बिद्यार्थीहरुलाई टिका, जमरा र नगद प्रदान गर्दै नजिकिदै गरेको दशैँको शुभकामना प्रकट गरे ।