2026-07-25 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उडिरहेको हेलिकोप्टरबाट सामान झरेपछि छानविन टोलि सोलुखुम्बुमा

फागुन १२,सोलुखुम्बु | उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए । 

छानबिन समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर वरुण ज्ञवाली, प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो । 

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख अधिकारीका अनुसार काठमाडौँबाट हवाई जहाजमार्फत लुक्ला आएको टोलीले घटनास्थल पुग्न कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेको थियो । घना जङ्गल भएकाले हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएकाले आकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेको टोली पुनः लुक्ला फर्केर बसेको छ । टोली आज काठमाडौँ फर्केर केही दिनमा प्रतिवेदन बुझाउने नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रले जानकारी दिए ।

घटनाको विषयमा आफूहरु गम्भीर भएको भन्दै उनले प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने बताए । बारम्बार यस्ता घटना घट्नुले हवाई उडानको समयमा असुरक्षित महसुस भएको स्थानीयको भनाइ छ । शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ दिङ्बोचेका लागि डोरीमा झुण्ड्याएर निर्माणका सामग्री लाँदै गर्दा केही मिनेटपछि लुङ्दीङ जङ्गलमा झरेको थियो । 

यस विषयमा कैलाश एयर प्रालिका अपरेसन म्यानेजर प्रतापजङ्ग पाण्डले कमजोरीको बचाउ गर्न खोज्दै आफूलाई केही पनि जानकारी नभएको जवाफ दिए । उनले नेपाल बाहिर रहेको भन्दै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउने भने पनि अन्तिममा फोनसमेत ‘रिसिभ’ गरेनन् । 

किन झर्छ बारम्बार सामग्री

कैलाश एयरको हेलिकोप्टरले सामान झार्दै उडेको यो पहिलो घटना होइन । यसअघि गत भदौ १९ गते पनि सोही एयरको हेलिकोप्टरले सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा सिरकको पोकोसहितको सामग्री झारेको थियो । यस विषयमा नियमनकारी निकाय मौन बस्यो । 

विभिन्न सञ्चारमाध्यममा नियमविपरीत हेलिकोप्टर कम्पनीको उडान शीर्षकमा समाचार प्रकाशन प्रसारण भएको भए पनि निमयनकारी निकायले कुनै कदम चालेन । स्थानीय प्रशासनको समन्वयमा सुरक्षा ग्यारेण्टी गरी उडान भर्नुपर्ने हेलिकोप्टरले हाल सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुको एकान्त ठाउँबाट सेवा प्रवाह गरिरहेको छ । यहाँ न त नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै पुग्छन् न त प्रहरी प्रशासन नै,  त्यसैले के कति कसरी काम भइरहेको छ भन्नेबारेमा यहाँका प्रशासनलाई थाहा हुने कुरा पनि भएन । 

टाक्सिन्दु पुगेका सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लिम्बुले अव्यवस्थित ढङ्गबाट मालसामान ढुवानी भएको पाइएको बताए । उनका अनुसार कार्गो ढुवानीमा प्रयोग गरिने जाली च्यातिएपछि सामग्री खसेको हो । घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उनले तत्कालका लागि टाक्सिन्दुको प्रहरीले अनिवार्यरूपमा निगरानी राख्ने बताए ।

प्रहरीले जाँच नगरी कार्गो ढुवानी गर्न नपाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ । ‘छानबिन समितिको प्रतिवेदन केही दिनमा आउला, त्यो कस्तो आउँछ हेर्न बाँकी छ’, प्रहरी प्रमुख लिम्बुले भने, ‘नागरिक उड्डयनको पाटोबाट गर्ने एउटा होला हाम्रो तर्फबाट तत्काल सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छौँ ।’ सानो ठाउँमा निर्माणका सामग्री अव्यवस्थित ढङ्गबाट कार्गो ढुवानी भएकाले विमानस्थलबाटै ढुवानी गराउँदा सहज हुने बताइएको छ ।

मनोमानी ढङ्गबाट जथाभावी उडान तथा अवतरण गर्दा गैरकानुनी गतिविधि बढ्ने स्थानीयवासीको भनाइ छ । प्राधिकरण र मन्त्रालयबाट जारी गरिने उडान अनुमतिमा कुन, कुन वस्तु कुन क्षेत्रमा दैनिक कति पटक गर्न पाउने स्पष्ट खुलाएको हुन्छ तर नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको उपस्थितिबिना गरिने ढुवानीले नियमको पालना नगरेको स्पष्ट हुने स्रोतको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ