वैशाख १४, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको शंख्या ५२ पुगेको छ । आज नयाँ संक्रमितहरु वीरगन्जका दुई जना पुरुषहरु भएको स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले यस अघिनै जानकारी दिएको छ भने थप एक जना आजै संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो संक्रमित झापाका ५० बर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ । उनलाई कोशी अंचल अस्पताल विराटनगरमा भएको परीक्षणबाट कोरोना भएको पाइएको हो ।
यस अघि आजै वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा वीरगन्जका ५० वर्षीय २ पुरुषमा कोरोनाको संक्रमण देखिएको उनले बताए ।
उनका अनुसार आज कोरोना संक्रमण देखिएका तीनै जना अहिले आइसोलेसनमा उपचाररत छन् । तीनै जनाको अवस्था सामान्य छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म १६ जना संक्रमित कोरोनालाई जितेर उपचारपछि घर फर्कि सकेका छन् ।
