साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसेलगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ ।

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी किनारका घर क्षति हुँदा जिल्लावासीले ठूलो दुर्घटना खेप्नुपरेको छ । हालसम्म बाढीले तातोपानी, लिपिङ, बाह्रविसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको छ । तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुई वटा टिपरसहित तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त भएका छन् ।

बाढीका कारण विद्युत्को खम्बा ढल्दा हालसम्म तातोपानी, लिपिङ क्षेत्र फोन सम्पर्क तथा विद्युतीय सेवा बाहिर छन् । बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटर सडक ठाउँठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको छ ।

गाति गाविसको जम्बु भन्ने स्थानमा बाढीका कारण सडक कटान भएपछि यातायात अवरुद्ध भएकाले हालसम्म पनि बससेवा सञ्चालन हुन सकेको छैन । तातोपानीका स्थानीय अझै पनि पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् । अवरुद्ध भएको सडकमा जालीको ग्याबिन भरेर निर्माण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।

तातोपानीलगायतका विभिन्न स्थानबाट सम्पर्कविहीन बनेका ६३ महिला, ३७ पुरुष, ६ बालिका र २ बालक गरी जम्मा १०८ जनालाई हेलिकोप्टरबाट स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले घर बगाएपछि ओतलाग्ने ठाउँ खोज्दै तातोपानी–१ का श्यामबहादुर घताली यतिबेला चौकीडाँडामा गएर शरण लिन बाध्य छन् । उनी जस्तै घरबार विहीन भएका पीडित कोही जिल्लाभित्रै रहेका आफन्तकामा शरण लिन पुगेका छन् भने कतिपय काठमाडौँ गएका छन् ।

बाढीपीडितले यत्रो विपत्ति पर्दा पनि सरकार पक्षबाट केही सहयोग नहुँदा आफूहरु झन् समस्यामा परेको गुनासो गरेका छन् । केही मात्रामा रेडक्रसले सहयोग गरेको भएपनि सरकारको उपस्थिति नहुँदा निकै दुःख लागेको घताली बताए ।

असार साउनको समयमा पानीको बहाव बढ्ने हुनाले नदी किनारमा रहेका स्थानीय अझै पनि ढुक्कले निदाउन सकेका छैनन् । जुनसुकै समयमा पनि पानीको सतह बढ्ने हुनाले सतर्कताका साथ बस्न आग्रह गरेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।

उनले नदीमा पानीको बहाव घट्ने बढ्ने हुँदा नदीले धार परिवर्तन गरी सडक कटान गर्ने गरेको बताए । बाह्रविसे बजारमा अवस्थित यातायात आवतजावत गर्ने पक्की पुलमा समेत बाढीका कारण सामान्य क्षति पुगेको सडक विभागले जानकारी दिएको छ ।

Related News