पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २४, चितवन (रासस) । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारवाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारवाहीको दायरामा ल्याएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले बुबा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान शुरु गरिएको हो ।

छोरीको जन्म मिति विसं २०५७ असोज १ गते र बाबु आमाको विवाह दर्ता विसं. २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

निजहरुले छोरीको जन्मदर्ता भने विसं २०७० मा गरेको पाइएको छ । जन्मिएपछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन रहेको छ । जन्म भएको मिति बाबु आमा भनिएकाको विवाह भएको मिति भन्दाअघि देखिएपछि शङ्का लागेर प्रशासनले अनुसन्धान गरेको शर्मा बताउनुहुन्छ ।

वडा कार्यालयको सिफारिससहित यही कात्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरुबाट नक्कली कागजात भेटिएको हो । कागजपत्र पेश भएसँगै कार्यालयले अनुसन्धान शुरु गरी वडा अध्यक्ष, वडा सचिवसहित छ जनाको बयान लिएको छ । अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।