पुस १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माधव-प्रचण्ड समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको छ । यसअघि प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
बिहीबार बसेको बहुमत सांसदको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा उक्त समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । नेकपाका
प्रदेश १ मा ६७ सांसद रहेका छन् ।
ति मध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल र ओली दुई समुहमा विभाजन भएको छ । यसअघि बागमती प्रदेशमा पनि प्रचण्ड-नेपाल समूहले डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई चयन गरेको थियो ।