माघ २३, काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले म्यान्मारमा भएको सैन्य 'कू' को निन्दा गरेको छ । २१ गते पोखरामा सम्पन्न शान्ति समाजको केन्द्रीय कार्यसमिति बैठकले राजनीतिज्ञहरुको विना शर्त रिहाईको माग गर्दै बर्मामा सैनिक शासनको शिघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको हो ।
बैठकले कोभिड १९ कहरका कारण झण्डै १ बर्ष जनजीवन त्रस्त र अस्तव्यस्त भएतापनि अन्ततः खोपको विकास र आविष्कारले जनजीवन अझ सहज हुँदै जाने विश्वाससहित कोभिड १९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपालमा असंवैधानिक तवरमा भएको प्रतिनिधिसभा विघटनलाई शान्ति समाजले अलोकतान्त्रिक एवं स्वेच्छाचारी भन्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकै कडी भएको हुँदा सो को विरोधमा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा २० जिल्लामा गोष्ठीहरु सम्पन्न भइसकेका छन् ।
“असंवैधानिक तवरमा प्रतिनिधिसभा विघटन लोकतन्त्रमाथि प्रहार” भन्ने मूल नारासहित शान्ति समाजको २३ औ राष्ट्रिय परिषद् बैठक २०७७ फागुन २१ र २२ मा कास्की शाखाको आतिथेयमा पोखरामा आयोजना हुन गइरहेको सन्दर्भमा कास्की शाखा सभापति अमृत सुवर्णकारको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन भइसकेको छ । समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्यहरु र कास्की शाखाका पदाधिकारीहरुसहित ४० जनाको सहभागिता रहेको थियो ।