२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

१२ चैत्र २०७७, बिहीबार ०९:२०

चैत १२, कर्णाली । कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई सहजरुपमा ग्रहण गर्छन् । नपत्याउने र असम्भव देख्नेहरुका अगाडि देखिने गरी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यही चैत २ गतेबाट चिकित्सा शिक्षाको स्नातकोत्तर तहको पढाइ प्रारम्भ गरेको छ ।

गत साउन ३० गते चिकित्सा शिक्षा आयोगको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसको बैठकले प्रतिष्ठानका लागि ‘एमडिजिपी इन जनरल प्राटिक्स्’,‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेसँगै यही शैक्षिक सत्रमा अध्ययन अध्यापनको कार्य शुरु गरिएको हो ।

हिजो प्राविधिक तथा स्वास्थ्यको मात्र होइन, साधारणतर्फको उच्च शिक्षाका लागि मुलुकको मुटु मानिदै आएको काठमाडौँलगायत देशका विभिन्न शहर धाउने कर्णालीले आज स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइ शुरु गरेर देशलाई नौलो सन्देश प्रवाह गरेको छ । इच्छाशक्तिलाई विकट भूगोलले छेक्दैन भन्ने गतिलो उदाहरण प्रतिष्ठान जुम्लाले प्रस्तुत गरेको छ ।

स्वास्थ्यलगायतका उच्च तहको शिक्षाका लागि अन्तमा भए पनि काठमाडौँ जाने कर्णालीले यतिबेला काठमाडौँस्तरकै स्वास्थ्य शिक्षा हामी जुम्लाबाट दिन्छौं भनेर प्रस्ताव ग¥यो । जसअनुसार डाक्टर मात्र होइन, विशेषज्ञ डाक्टरको जनशक्ति तयार गर्ने तहको चिकित्सकीय शिक्षा अध्ययन गर्न पहिलो पटक कर्णाली बाहिरको जनशक्ति पढ्न जुम्ला भित्रिएको छ ।

स्नातकोत्तर तहको चिकित्सा शिक्षा अध्ययनका लागि जुम्ला पुग्ने व्यक्ति काठमाडौँं उपत्यकाभित्रको जिल्ला भक्तपुर निवासी डा रहिस कोजु हुनुहुन्छ,उहाँ जनरल प्राक्टिस् इन इमरजेन्सी मेडिसन पढ्न कर्णाली आउनुभएको हो । कर्णालीको इतिहासमा प्रतिष्ठानले पहिलोपटक विशेषज्ञ तहको चिकित्सा शिक्षा अध्ययन अध्यापन कार्य शुरु गरेको पहिलो वर्षमै उहाँ पढ्न जुम्ला आउनुभएको छ । उहाँले जनरल प्राक्टिस इमरजेन्सी मेडिसनमा अध्ययन शुरु गर्नुभएको छ ।

त्यस्तै विशेषज्ञ चिकित्सा शिक्षा अध्ययनका लागि दार्चुला जिल्ला निवासी डा.ललितसिंह धामी र कपिलवस्तुका डा.वेदकुमार चौधरी जुम्ला पुग्नुभएको छ । डा.धामीले एनेस्थेसिया र डा.चौधरीले पेडियाट्रिक्स् (बालरोग) मा अध्ययन थाल्नुभएको छ । तीनै जनालाई प्रतिष्ठानले पढाउँदै छ । काठमाडौँलगायतका देशका सुविधा सम्पन्न शहरहरुमा बसेर उच्च शिक्षा हासिल गर्ने र ती ठाउँ बाहेक अन्त भविष्य नदेख्ने हाम्रो दृष्टिकोण भने यो अवसरले बदल्दिएको छ । दुर्गमबाट पनि सुगमको शिक्षा लिन सकिने नौलो अनुभूति र उत्साह लिएर अध्ययनका लागि कर्णाली आइपुगेको र यो अवसर प्राप्तिले खुशी बनाएको डा कोजुले बताउनुभयो । 

डा धामी र चौधरीले फरक पृष्ठभूमिमा रहेर पढ्न पाउने अवसर कमैले पाउने र त्यो मौका आफूहरुलाई मिलेको प्रतिक्रिया दिनुभयो । डा द्वयले भन्नुभयो, “हामीले पढ्ने शिक्षामा फरक हुनेछैन यद्यपि परिवेश, वातावरण र परिस्थिति फरक नै हुन्छ होला र त्यसलाई आफु अनुकूल बनाउने कुरामा हामी दृढ छौं ।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका संस्थापक नरेश भण्डारीले कर्णालीवासीलाई बहुप्रतिक्षित ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभयो । हाल कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “मैले आज भन्दा १० वर्षअघि विद्यार्थीलाई कर्णाली ल्याएर डाक्टर बनाएर पठाउने एउटा सपना देखेको थिएँ, त्यो पूरा हुने भएको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तहमा चिकित्सा शिक्षा अध्यापन कार्यक्रम शुरु गरेर ‘कर्णालीमा आउ, विशेषज्ञ डक्टर वन’ को कर्णाली सपना कार्यान्वयन प्रारम्भ गरेको भन्दै मन्त्री भण्डारीले प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा दिएको योगदान र कोरोना महामारीमा यसले पारेको सकारात्मक प्रभाव नागरिकहरुमा स्वास्थ्य सेवा पाउनेमा विश्वास बढ्दै गएको बताउनुभयो । तत्कालीन जिल्ला अस्पतालबाट शुरु भएको सामान्य उपचार सेवा आज विशेषज्ञ सेवामा परिणत भएपछि कर्णालीवासी खुशी भएका छन् । हिजो डाक्टर खोजी गर्ने जुम्ला कर्णाली आज डाक्टरकै जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण हुनुले समग्र कर्णालीलाई निकै खुशी तुल्याएको पूर्व राज्यमन्त्री बलबहादुर महत बताउनुहुन्छ । 

प्रतिष्ठान पहल समितिको सहसंयोजक रहेका उहाँ भन्नुहुन्छ, “हामीले विगतमा प्रतिष्ठान स्थापना गर्न निकै ठूलो चुनौती भोग्नुप¥यो । जुम्लामा पनि प्रतिष्ठान सम्भव छ र ? असम्भव कुरामा लाग्न आवश्यक छैन भनेर भनियो र निरुत्साहित समेत बनाउने काम भयो तर हामी ती कुरामा कहिल्यै ध्यान दिएनौँ र निरन्तर लागिरह्यौं । जसको प्रतिफल जुम्लाले होइन, सिङ्गो कर्णालीले चाखिरहेको छ ।” क्लिनिकल सेवाबाट यात्रा शुरु गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छोटो समयमा स्वास्थ्य क्षेत्रमा निकै ठूलो फड्को मारेको शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिनुभयो । “स्नातकोत्तर तहको डाक्टरी पढाइ कर्णालीको विकासमा कोेसेढुङ्गा सावित हुनेछ,” शिक्षाध्यक्ष डा. थापाले भन्नुभयो, “अब कर्णाली डाक्टर खोज्दैन । जहाँ आवश्यक हुन्छ त्यहाँ डेलिभरी गराउँछ ।” 

उहाँले अगाडि भन्नुभयो, “मृत्यु हुँदा शव परीक्षणका लागि कर्णालीवासी डाक्टर कुरेर बस्छन् । कर्णालीमा डाक्टर बस्न मान्दैनन् भन्ने कुरा एकादेशको कथा भइसक्यो । अब त यो डाक्टर जनशक्ति उत्पादन गर्ने र मुलुकको स्वास्थ्य उपचार, शिक्षा, अनुसन्धानमा सहयोग पु¥याउने संरचनामा विकास हुँदैछ । कर्णालीावासीले गुणस्तरीय स्वास्थ्य सेवासहित स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाउनेछन् ।”उहाँले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धान प्राथमिकतामा राखेर शैक्षिक कार्यक्रम अगाडि बढाइएको जनाउनुभयो । मूलतः दुरदराजमा स्वास्थ्य सेवा दिने र सामाजिक रुपमा उत्तरदायी चिकित्सक उत्पादन गर्ने लक्ष्य यो प्रतिष्ठानको रहेकोले विशेषज्ञ डाक्टर अध्ययन अध्यापनको पहिलो प्रयास अपेक्षाकृतरुपमा सफल हुने शिक्षाध्यक्ष डा थापाको भनाइ थियो ।

प्रतिष्ठानका निमित्त उपकुलपति डा मङ्गल रावलले यसवर्ष एमडी, एमएसमा पाँच सिट पाइएकोमा तीन जनाले अध्ययन शुरु गरेको र बाँकी दुई जनाको प्रक्रिया पूरा भएपछि पढाइ शुरु हुने बताउनुभयो । डा रावलले भन्नुभयो, “डाक्टर अध्ययनको गन्तव्यस्थल अब कर्णाली बनाउने गरी अघि बढ्छौँ । यो वर्ष पाँच सिट पाएका छौँ । आगामी वर्ष १०–१५ विद्यार्थीसम्म भर्ना लिन सक्ने अवस्थामा पुग्नेछौँ ।”उहाँले अगाडि भन्नुभयो, “डाक्टर आफैले स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढ्दा तीन वर्षका लागि प्रति व्यक्ति रु २२ लाख तिर्नुपथ्र्यो । यद्यपि, तीनै जनालाई प्रतिष्ठानले निःशुल्क पढाउने छ । सम्भवत नेपाल सरकारले उनीहरुलाई अध्यापन गराएबापत प्रतिष्ठानलाई रु २२ लाख हाल्छ होला ।” सयौं डाक्टर उत्पादन गर्नेगरी अघि बढ्ने उहाँको भनाइ थियो । 

उहाँका अनुसार सिङगो मुलुकको मानव विकास सूचक कर्णालीले बदल्न सक्ने हैसियत राख्न सक्दछ । स्वास्थ्यको तीव्र विकासले पछिल्लो समयमा अन्धविश्वास, परम्परागत सोच र कुप्रथाहरुमा कमी आएको उहाँको भनाइ थियो । कर्णाली प्रतिष्ठानले सिङ्गो देशको नेतृत्व गरेको दाबी गर्दै उहाँले अब यसले सयौँ चिकित्सहरु उत्पादन गर्ने बताउनुभयो । प्रतिष्ठानमा करीब चार दर्जन विशेषज्ञ चिकित्सक र १०० भन्दा बढी चिकित्सक प्रतिष्ठानमा कार्यरत छन् । विगतमा प्यारामेडिकल डाक्टर नपाउने क्षेत्र अहिले विशेषज्ञ चिकित्सक उत्पादन गर्ने महत्वपूर्ण ठाउँ बन्दैछ । अहेब पढ्न जिल्ला छोड्नुपर्ने कर्णालीको विगत चिकित्सक पढाउने वर्तमानमा परिणत भएपछि आज निकै उत्साहित छन् । 

सुगमबाट दुर्गम कर्णालीको स्वास्थ्य अवस्था हेर्दा निकै कहालिलाग्दो देखिन्छ । यही अवस्थामा कर्णालीले डक्टरी पढाइ गर्नु निकै खुशी र चुनौतीको विषयमा भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताउनुभयो । अध्यापन कार्य प्रभावकारी बनाउन सबै सङ्कायका विभाग प्रतिष्ठानले गठन गरिसकेको छ । प्रतिष्ठानको यो शैक्षिक कार्यक्रमले कर्णाली कमजोर छैन भन्ने प्रष्ट्याएको छ ।प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले एमडी.एमएस. कार्यक्रमपछि अब प्रतिष्ठानले एमबीबीएस कार्यक्रम शुरु गर्ने जनाउनुभयो । “केही समयपछि केन्द्रबाट परीक्षण टोली जुम्ला पुगेर त्यहाँको समग्र वस्तुस्थिति हेर्दैछ,” रजिष्ट्रार काफ्लेले भन्नुभयो, “त्यसपछि यसले आफ्नो योजनालाई तीव्ररुपमा अगाडि बढाउनेछ ।”

प्रतिष्ठानले यस अघि हेल्थ असिस्टेण्ट, स्टार्फ नर्सका कार्यक्रम सञ्चालन गरिसकेको छ । अहिले ब्याच्लर ईन मिडवाईफरी, ब्याच्लर ईन पब्लिक हेल्थ, ब्याच्लर ईन जनरल मेडिसिन अध्ययन अध्यापन भइरहेको छ । प्रतिष्ठानले ‘कर्णाली मोडल हेल्थ केयर’ अवधाराणा पनि अघि बढाएको छ । 

प्रतिष्ठानको उत्पादित जनशक्ति मुलुकका जुनसुकै दुर्गम भेकमा सहजै काम गर्न सक्ने विश्वास गरिएको छ । एक दशकभित्र भएको स्वास्थ्यको विकासले यहाँका नागरिकहरुको आर्थिक तथा सामाजिक विकासमा ठूलो परिवर्तन आएको कर्णालीका पुराना वामपन्थी नेता रामकृष्ण बुड्थापाले बताउनुभयो । “स्वास्थ्य मानव जीवनको अमूल्य धन रहेछ,” उहाँले भन्नुभयो, “प्रतिष्ठान स्थापनापश्चात् यहाँको नागरिकहरुको स्वास्थ्यमा मात्र होइन, आर्थिक, साँस्कृतिक र सामाजिक परिवर्तन भएको छ ।” 

तातोपानी– ८ जुम्लाका स्थानीय मैती रावतले प्रतिष्ठानमा ठूला शल्यक्रिया गर्दा पनि नेपालगञ्ज काठमाठौँ भन्दा धेरै कम रकम लाग्ने गरेको बताउनुभयो । रावतले भन्नुभयो, “अहिले गाउँघरतिर पनि स्वास्थ्य शिविरमा डाक्टर चेक गर्न आउँछन् । केही बिरामी चिन्ता नमानेर प्रतिष्ठान आउनु उपचार गरौँला भनेर डाक्टर साबले भनेपछि निकै खुशी लाग्यो ।”कर्णालीमा विशेषज्ञ तहको चिकित्सक पढाइ हुनु असामान्य कुरा भएको कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले बताउनुभयो । “लाखौँ खर्चेर बाहिर पढ्न जान बाध्य कर्णालीले आफ्नै थातथलोबाट पढ्न पाउनु यो जतिको सुनौलो र ऐतिहासिक अवसर के हुन सक्छ ?” सदस्य श्रेष्ठले भन्नुभयो “शव परीक्षणका लागि डाक्टर कुरेर बस्नुपर्ने नियतिबाट आव यो अवस्थामा पुग्नु सुखद हो ।”प्रतिष्ठानले अब बिरामी डाक्टर खोज्दै आउने नभई डाक्टर बिरामी खोज्दै जाने र व्यावसायिक मर्यादापालना गर्ने जनशक्ति उत्पादनको मोडलबाट अघि बढेको छ ।

यसले विद्यार्थी केन्द्रित पाठ्यक्रम निर्माण गरेको छ । विद्यार्थीहरुले आफु पढ्दै बिरामीको सेवा गर्नेछन् । शिक्षा, संस्कृति, सभ्यता सिक्न र दक्ष बन्न कर्णाली जाऔँ भन्ने मान्यतालाई कायम राख्न उत्प्रेरित गरेको छ ।  त्यसैगरी स्नातकोत्तर तहको चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनबाट दुर्गममा जागिर खाँदैन भन्ने मान्यता हट्ने र दक्ष चिकित्सक बन्न कर्णालीमा जानुपर्छ भन्ने मूल्य स्थापित हुनुका साथै कर्णालीको स्वास्थ्य, शिक्षा, अनुसन्धान तथा पूर्वाधारको विकासले मात्र सिंगो मुलुकको मुहार फेरिने अपेक्षा कर्णालीवासीले गरेका छन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य