पढ्न करिब 1 मिनेट लाग्छ

पुस २५, काठमाडौँ | एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच आइतबार नोबेल मेडिकल कलेजमा झडप भएको छ ।

कलेजले अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीहरुलाई प्रवेशमा रोक लगाउँदै आएको छ । झडपका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगतसहित केही विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरूले कलेजमा अनशन बस्न आएपछि सुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले गरिखान देऊ भन्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीको हुल देखेपछि व्यवसायीहरू पछि हटेका थिए ।

विद्यार्थीहरू कलेजमा प्रवेश गरेपछि कलेजका कर्मचारीहरूले पनि रोजगारी गर्न देऊ भन्दै विद्यार्थीविरूद्ध आन्दोलनमा उत्रेका थिए ।कर्मचारीहरूसँग विद्यार्थी नेताहरूले वार्ता गरेर अनशन बस्न लागेको बेला भाटा लिएर तयारी अवस्थामा बसेका सुरक्षा गार्डले विद्यार्थीहरुमाथि खनिएका थिए ।

सुरक्षा गार्डहरुले कुटपिट गर्न थालेपछि विद्यार्थीहरू प्रतिकारमा उत्रिएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । अहिले कलेज परिसरमा विद्यार्थीहरूले नाराबाजी गरिरहेका छन् ।