पढ्न करिब 3 मिनेट लाग्छ

माघ १६, देउखुरी | कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् ।

विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप लगाइने र घोराहीमा दोस्रो मात्रा तथा यसअघि छुटेका बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।

यसअघि गत पुस २० देिख २६ गतेसम्म घोराहीका २२ हजार ४५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको थियो । घोराहीका बालबालिकालाई दोस्रो मात्रा र त्यतिबेला छुटेका बालबालिकालाई पहिलो मात्रा दिइने प्रमुख शाहीले जानकारी दिनुभयो ।

घोराहीबाहेकका अन्य पालिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यसअघि खोप अभियान चलाइएको छैन । माघ ४ गते गृह, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको थियो ।

दाङमा अहिलेसम्म ८८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो डोज खोप लगाउने ८८ प्रतिशत र दोस्रो डोज लगाउने ६१ प्रतिशत छन् ।

स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलका अनुसार पहिलो डोज लगाउने तीन लाख ५० हजार ५२७ जना र दोस्रो डोज लगाउने दुई लाख ६७ हजार ६३३ जना रहेका छन् । घोराहीमा एक लाख २८ हजार ११ जनाले पहिलो र ९३ हजार ४३० जनाले दोस्रो डोज खोप लगाएका छन् । त्यसैगरी तुलसीपुरमा ९७ हजार २२३ जनाले पहिलो र ७१ हजार ९८० जनाले दोस्रो डोज खोप लगाएको अधिकृत पौडेलले जानकारी दिनुभयो ।

लमहीमा ३० हजार ६८५ जनाले पहिलो र २६ हजार २३८ जनाले दोस्रो डोज लगाएका छन् । यसैगरी बङ्गलाचुलीमा आठ हजार ८८५ जनाले पहिलो र सात हजार २०१ जनाले दोस्रो डोज खोप लगाएको तथ्याङ्क छ ।

बबईमा १४ हजार ३९५ जनाले पहिलो र १० हजार २४४ जनाले दोस्रो, शान्तिनगरमा १४ हजार ८८४ जनाले पहिलो र नौ हजार ७७३ जनाले दोस्रो, दङ्गीशरणमा ११ हजार ६३६ जनाले पहिलो र नौ हजार दुई जनाले दोस्रो डोज खोप लगाएका छन् ।

राप्तीमा २२ हजार ५०० ले पहिलो र २० हजार ४५२ जनाले दोस्रो, गढवामा २० हजार १०२ जनाले पहिलो र १३ हजार ७४७ जनाले दोस्रो र राजपुरमा १२ हजार ७९९ जनाले पहिलो र पाँच हजार ५६६ जनाले दोस्रो डोज खोप लगाएका छन् ।