
काठमाडौँ | बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनका क्रममा विवाद चर्किदा गोली चलेको छ। प्रहरीले चलाएको गोली लागेर फेटा गाउँपालिका–३ का १४ वर्षीय आदित्य पासवान घाइते भएका छन्। घाइते पासवानको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको शरीरमा लागेको गोली निकालिएको छ। उनको अवस्था गम्भीर रहेको छ। फेटा गाउँपालिका–३ मा निर्माण गरिएको १५ शैयाको अस्पताल उद्घाटनको विषयलाई लिएर विवाद भएको हो। गाउँपालिकाको कार्यालयले दिउँसो १ बजे अस्पताल उद्घाटन गर्ने तयारी गरेको थियो। तर स्थानीयले अधुरो भवन उद्घाटन गर्न नहुने भन्दै बिहान ९ बजेदेखिनै अस्पताल परिसरमा विरोध जनाउँदै आएका थिए।
भवन निर्माण भएपनि विद्युत, फर्निचरलगायतका विभिन्न कामहरु सम्पन्न नभएसम्म अस्पताल उद्घाटन गर्न नहुने स्थानीयको भनाइ थियो। सोही विषयलाई लिएर केही स्थानीयले उद्घाटनको विरोध गर्दै आएका थिए। स्थानीयको विरोधकाबीच गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी भने अस्पताल उद्घाटन गर्ने अडानमा लिए। दुबै पक्षले अडान नछाडेपछि विवाद चुलिएको हो। सोही क्रममा अस्पताल परिसरभित्र विरोध गरिरहेका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेपछि दोहोरो झडपको स्थिति सिर्जना भएको थियो। दोहोरो झडपकै क्रममा प्रहरीले चलाएको गोली लागेर बालक घाइते भएका हुन्।
बालकलाई गोली लागेपछि आक्रोशित स्थानीयले ९ वटा मोटरसाइकलमा आगजनी गरेका थिए। स्थानीयको प्रदर्शनका कारण फेटाको स्थिति अहिले तनावपूर्ण छ। स्थिति तनावपूर्ण बनेपछि जिल्ला सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ।