चैत १७, बर्लिन । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे 'पूर्व चेतावनी'को घोषणा गरेको छ । रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा रुवलमा मात्र गर्नुपर्ने माग गरिसकेको छ ।
तर अहिलेसम्म प्राय: युरोमै ग्यास खरिदबापत भुक्तानी गर्दै आएको युरोपेली संघ (ईयू)ले रुसको माग अस्वीकार गरेको छ ।
त्यसपछि मस्कोले आफ्नो अडानलाई लचिलो पार्दै बुधबार रुवलमा भुक्तानी हुने प्रक्रिया विस्तारै लागु गरिने जनाएको थियो ।
तर अहिले जर्मनीले ग्यासको सम्भावित अभावलाई मध्यनजर राख्दै आफ्ना कम्पनी र उपभोक्ताहरूलाई उपभोग घटाउन आग्रह गरिसकेको छ । जर्मनीले करिव पचास प्रतिशत ग्यास र ३३ प्रतिशत तेल रुसबाट आयात गर्दै आएको छ । ग्यासको त्यस्तै गम्भीर अभाव आइपरेको स्थितिमा जर्मनीले रासनकोटा अनुसार त्यसको वितरण गर्ने भएको छ ।
जर्मन अर्थमन्त्री रोबर्ट ह्यावेकले ग्यास आपूर्तिलाई केही समयका लागि सुरक्षित गरिएको तर यदि रुससँग यसबारे तनाव बढेमा सर्तकताका उपायहरू अपनाइनेबारे अहिल्यै सोचिएको बताएका छन् ।
यता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबारदेखि रुसले रुवलमा भुक्तानी नमाग्ने स्पष्ट पारेका छन् । युक्रेनमा आक्रमण गरेको कारण रुसमाथि पश्चिम जगतले आर्थिक प्रतिबन्ध लगाएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा पैठारी हुने प्राकृतिक ग्यासको भुक्तानी रुवलमा हुनपर्ने माग गरेका थिए ।
बीबीसीबाट ।