२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र

२०७९, ४ बैशाख आईतवार ०८:४१

वैशाख ४, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । चौध वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल कम देखिएपछि प्रकृतिमा रहेका गिद्धलाई केन्द्रित गरेर जटायु रेस्टुरेन्टमार्फत कार्यक्रम गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हाल प्रजनन केन्द्रमा १० गिद्ध मात्र छन् । 

केही समयअघि त्यहाँका १० वटा गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई केही महिना त्यहीको खोरमा राखेपछि प्रकृतिमा छाडिनेछ । आचार्यका अनुसार ती गिद्ध छाडेपछि यहाँका १० गिद्धलाई लगिने कार्यक्रम छ । यससँगै कसरामा १४ वर्षदेखि सञ्चालन हुँदै आएको प्रजनन् केन्द्र बन्द हुने उनले बताए । आगामी साउन महिनासम्ममा प्रजनन् केन्द्र बन्द हुनेछ । अघिल्ला तीन वर्ष गिद्धले अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिमरुपमा गरिएको प्रजनन्भन्दा प्राकृतिकरुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै संरक्षणमा जोड दिइएको हो ।  

निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार सन् २००८ बाट कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्न थालिएको हो । त्यसयता सन् २०१४ बाट प्रजनन केन्द्रमा गिद्धले अण्डा पार्न सुरु गरेको हो । पहिलो वर्ष पाँच अण्डाबाट एउटा मात्रै बच्चा कोरलिएको थियो ।

उनका अनुसार सन् २०१५ मा सात अण्डाबाट एउटा पनि बच्चा कोरिलिएन । यस्तै सन् २०१६ मा १५ वटा अण्डाबाट नौ वटा बच्चा कोरलिएको भए पनि एउटा मरेको थियो । सन् २०१७ मा २१ अण्डाबाट छ बच्चा कोरलिएको थियो । सन् २०१८ मा २० अण्डाबाट दुई बच्चा कोरलिएकामा त्यसयता बच्चा कोरल्न सकेको छैन । सन् २०१९ मा १९ र २० मा १४ अण्डा पारे पनि बच्चा कोरल्न सफल नभएको उनले जानकारी दिए । गत वर्ष १२ वटा अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेन ।   

बाहिरबाट ल्याएर हुर्काइएका गिद्ध र केन्द्रमा नै अण्डा पारेर बच्चा कोरलेर हुर्काइएका गरी ४९ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ । सन् २०१७ बाट प्रकृतिमा गिद्ध छोड्न सुरु गरिएको हो । पहिलो वर्ष छ गिद्ध छाडिएको थियो । सन् २०१८ मा १२, २०१९ मा १३ र यस वर्ष १८ वटा गिद्ध प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाड्नका लागि नवलपरासीको जटायु रेस्टुरेन्टमा जालीमा लगेर राख्ने गरिन्छ । प्रकृतिमा रहेका गिद्धसँग घुलमिल गराएर छोड्ने गरिन्छ । जटायु रेस्टुरेन्टमा प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने र उनीहरुको आनीबानी हेर्न मिल्नेगरी राखिएको हुन्छ । हाल प्रजनन् केन्द्रमा पाँच भाले र पाँच पोथी गिद्ध रहेका छन् । पाँच भाले र पाँच पोथी प्रकृतिमा छोड्नका लागि जटायु रेष्टुरेन्टमा लगिएको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले पछिल्ला वर्षमा प्रकृतिमा रहेका गिद्धको प्रजनन राम्रो र सङ्ख्या बढ्दै गएकाले प्रजनन केन्द्रमा संरक्षण गरी हुर्काउनुभन्दा प्रकृतिमा नै संरक्षणमा जोड दिइएको बताउनुभयो । उनका अनुसार जटायु रेस्टुरेन्टलाई व्यवस्थित गरेर प्रकृतिमा रहेका गिद्धको संरक्षणमा विभाग लागेको छ । नेपालले विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने काम गरेको हो । हाल नवलपरासीसँगै दाङ, कैलाली र कोशीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुग्ने विश्वास लिइएको छ । मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने ‘डाइक्लोफिनाक’ नामक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । 

त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइएको छ । धेरै गिद्ध मरेपछि सरकारले संरक्षणमा जोड दिएको थियो । यो औषधिमा रोक लगाएसँगै प्रकृतिमा गिद्धको सङ्ख्या बढ्न थालेको महानिर्देशक कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?