वैशाख २०, वासिङटन | संयुक्त राज्य अमेरिकामा ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ ।
बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै हुन् । गएको साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि संक्रमणका घटना बढिरहेको छ ।
दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय प्रतिष्ठानले आइतबार मात्र झन्डै चार हजारजना नयाँ कोरोना संक्रमित भेटिएको जनाएको छ । परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा पोजिटिभ भेटिएको छ ।
तर, दक्षिण अफ्रिकाका एक वरिष्ठ कोरोना अनुसन्धानकर्ता एलेक्स सिगलले त्यस्ता बिरामीलाई सम्भवतः अस्पतालै भर्ना गर्नु नपर्ने र उनीहरूको ज्यान पनि नजाने बताएका छन् ।
दक्षिण अफ्रिकास्थित अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका प्राध्यापक सिगलले खोप लगाइसकेका र पहिल्यै संक्रमण भइसकेका एन्टिबडी भित्र छिर्न सक्ने भएकाले नयाँ भेरियन्ट बीए ४ र बीए ५ ले संक्रमणको नयाँ लहर सिर्जना गर्न सक्ने बताएका छन् । यी नयाँ दुई भेरियन्ट बीए २ भन्दा बढी सर्ने खालको देखिएको बताइएको छ । फोर्च्युनबाट ।