जेठ २८, सुर्खेत | आजको बालबालिका भोलिका देशको मेरुदण्ड । यही कारण बालबालिकालाई भविष्य र देशको मुहार फेर्न सक्ने र देशलाई काँधमा राखेर अघि बढ्ने खम्बा मानिन्छ । दैलेखको गुँरास गाउँपालिका विद्यार्थी बालबालिकाहरूले यो भनाइलाई स्पष्ट पारेका छन् ।
बिहीबार बालबालिका लक्षित योजनाको फाइल बोकेर जिल्लाको गुराँस गाउँपालिका–५ का प्रेम विक गाउँपालिका कार्यालय पुगेका थिए । बाल सञ्जालको सचिव समेत रहेका उनी गाउँपालिकामा बालबालिका लक्षित योजना पेश गर्न कार्यालयमा पुगेका हुन् । उनले गाउँपालिका कार्यालयमामा योजनाहरू मात्र बुझाएनन्, बाल लक्षित योजनामा बजेट विनियोजन तथा कार्यान्वयन गर्न आग्रह समेत गरे । देउराली बाल सञ्जालकी सचिव दिलकुमारी पुनमगर पनि गाउँपालिका कार्यालयमा बालबालिका लक्षित योजना पेश गर्न पुगेकी थिइन् ।
प्रेम र दिलकुमारी जस्तै पालिकाका आठै वडाका बालबालिकाले बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा बुझाएका छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि उनीहरूले बालभेलामार्फत बालबालिका लक्षित योजना छनौट गरेको हुन् ।
स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा बालबालिका केन्द्रित योजना र कार्यक्रमको छनौटमा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उदेश्यले बाल भेला गरी बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा पेश गरिएको हो । सबै वडाका बालबालिका सहभागी भेलाबाट प्राथमिकीकरण भएका योजना बालबालिकाले पालिका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवाकुमारी खड्कालाई बुझाएका छन् ।
बालबालिका लक्षित योजनामा के के छन् ?
किशोरीलाई सेनेटरी प्याड निर्माण तालिम, सबै विद्यालय घेराबार, बालमैत्री वडा घोषणा, बाल क्लबको क्षमता विकास र जीवनउपयोगी सीप, बालविवाह, छाउपडी लगायतका प्रथा न्यूनीकरणसहित १० वटा योजना बालबालिकाले प्राथमिकतामा राखेका छन ।
यस्तै, माध्यामिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, सेनेटरी प्याड व्यवस्थापनसहितको शौचालय, बहुअपाङ्गता भएका बालबालिकालाई घरमै सिकाई सहयोग, विद्यालयमा किशोरकिशोरी सूचना केन्द्र स्थापनालाई बालबालिकाले मुख्य प्राथमिकता दिएका छन् ।
योजना पेश गरेका बालबालिकाले नवनिर्वाचित जनप्रतिनीधिहरूसँग विद्यालयमा भएका समस्याहरू सुनाए । विषयगत र गुणस्तरिय शिक्षकको व्यवस्थापन तथा खानेपानी र शौचालय निर्माण गरिदिन बालबालिकाले आग्रह समेत गरे ।
बाल भेलाले छनौट गरेको योजनालाई प्राथमिकतामा राखेर पूरा गर्ने गुँरास गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए । गाउँपालिका उपाध्यक्ष शिवा खड्काले स्थानीय तहको योजना तर्जुमामार्फत बालबालिकाका समस्या पहिचान, समाधान र बालअधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइन् ।