भदौ २१, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा एक इन्सपेक्टर पनि पक्राउ परेका छन् ।
भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित, गुप्तालाई सघाएको आरोपमा पक्राउ परेका हुन । गुप्ता पक्राउसँगै प्रहरी निरीक्षक पण्डितलाई पनि नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए ।
प्रहरी निरीक्षक पण्डितको सहयोगमा म्यानपावर व्यवसायी तारा रेग्मीसँग गुप्ताले ५० लाख माग गरेको खुल्न आएको छ । पण्डितले सहयोग गरेबापत ७५ हजार लिइसकेको पनि परिसरको अनुसन्धानबाट खुलेको छ ।
करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पनि भेटिएको छ । आफनै श्रीमती हत्याको आरोपमा जेल सजायँ काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाकी प्रेमीका भनिएकी तारा रेग्मीलाई धम्क्याएको आरोपमा गुप्ता पक्राउ परेका हुन् ।
अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी रेग्मीलाई मुद्दा मिलाइदिने भन्दै गुप्ताले ५० लाख माग गरेका थिए । रेग्मी पूर्व डिआईजी रन्जन कोइरालाकी कान्छी श्रीमती हुन् । रञ्जनसँगै रेग्मी पनि गिता ढकाल हत्या काण्डकी आरोपी हुन् । उनैलाई धमक्याउने गुप्तालाई सहयोग गरेको आरोपमा पक्राउ परेका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको हिरासतमा राखिएको छ ।