भदौ १०, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ ।
आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ ।
पछिल्लो समय मेयर बालेनको एक्सनप्रति आम नागरिकले प्रशंसा गरिरहेका छन् भने व्यापारीहरु असन्तुष्ट छन् । बालेनले भदौ ६ गते बानेश्वरस्थित एक कम्प्लेक्समा डोजर चलाएर अण्डरग्राउण्ड खालि गराएका थिए । त्यसपछि काठमाडौं महलले बनाएको अवैध संरचना, रञ्जना गल्लीभित्रका संरचनामा डोजर चलाएको थियो ।
मेयर बालेनको कदमलाई लिएर नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र नेकपा एमाले युवासंघले आपत्ति जनाएको छ ।
बालेनले नियोजित तरिकाले व्यापारीमाथि आक्रमण गरेको भन्दै संघले महानगरलाई सबै क्षतिपूर्ति भराउने दाबी गरेको छ । कोरोना महामारीले घाटामा रहेका व्यापारीलाई दशैंको मुखमा यस्तो हबिगत बनाउनु गलत रहेको संघले जनाएको छ ।